मौरीपालनले फेरियो महिलाको जीवनस्तर

काँकडभिट्टा (झापा), माघ १८ – एघार वर्ष अघि शिवसताक्षी–७ की देवीमाया दाहाल जीवन निर्वाहको अरु उपाय नभएपछि वैदेशिक रोजगारीमा जान राहदानी बनाउनुभयो । छिमेकी शिवमाया थेबेले ‘मौरीपालन गर न, किन जान्छौ दुःख खेप्न परदेश’ भनेर सम्झाउनुभयो । त्यसपछि देवीमायाले विदेश जाने सोच त्याग्नुभयो ।

शिवमायाकै आग्रहमा २०६१ सालमा अर्जुनधाराका अमरदीप भेटवालबाट एक गोला मौरी सित्तैमा लिएर उहाँले व्यवसाय थाल्नुभयो । “प्राविधिक सीप केही जानेको थिइन्, मौरी भकाभक मर्न थाले,” व्यावसायिक जीवनको सुरुवातका कठिन दिनलाई सम्झिँदै दाहालले भन्नुभयो, “व्यवहार झन् डाँमाडोल होला जस्तो भयो, श्रीमानले पनि कि मौरी छाड् कि मलाई भन्न थाल्नुभयो ।”

विदेश नगएर गल्ती गरेँ कि भन्ने सोच उहाँमा फेरि पलायो । रु २० हजार ऋण तिर्न नसक्दा परिवारका अन्य सदस्यको खप्की खानु प¥यो । गाउँकाले पनि अब अरु केही गरेर भएन, मौरी पाल्न थालेकी थिई, खुच्चिउँ प¥यो भन्नथाले । गाउँमा मौरी पाल्ने उहाँ पहिलो महिला उद्यमी हुनुहुन्थ्यो । अप्ठ्यारो परिस्थितिसँग जुधिरहेकी दाहालको मौरीपालक सङ्घको तालिम पाएपछि आत्मविश्वास बलियो भएर आयो । ऋण लिएर चार गोला मौरी पाल्न सुरु गर्नुभयो ।

केही महिनापछि नै दाहालले मह बेचेर रु ५८ हजार आम्दानी गर्नुभयो । मौरीपालन थालेको एघार वर्षमा ४७ वर्षीया दाहालले यही व्यवसायबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण दिन सफल हुनुभएको छ । “वार्षिक रु आठ लाखसम्म आम्दानी हुन्छ, हाल ७० गोला मौरी छन्” उहाँले सुनाउनुभयो । गाउँमा उहाँकै पौरख देखेर अन्य महिलाले समेत मौरीपालन व्यवसाय थालेका छन् ।

जिल्ला कृषि विकास कार्यालयले दाहाललाई जिल्लाकै उत्कृष्ट कृषि उद्यमीका रुपमा २०७२ सालको ‘राष्ट्रपति कृषक पुरस्कार’ले सम्मानित गरेको छ । जिल्लाको शिवसताक्षीमा उहाँले स्थापना गर्नुभएको सतासी महिला मौरीपालन सहकारी संस्थामा हाल २९८ महिला सदस्य रहेका छन् भने उनीहरु सबैले मौरीपालन व्यवसाय गरिरहेका छन् ।

कृषकबाट प्रशिक्षक ‘मौरी दिदी’
देवीमायालाई अचेल सबैले आदरपूर्वक ‘मौरी दिदी’ भनेर सम्बोधन गर्न थालेका छन् । ‘राष्ट्रपति पुरस्कार’ पाएपछि उहाँको चर्चाले गाउँ नै परिचित बनेको छ । कुनै बेला खिसीट्युरी गर्नेहरू आजभोलि व्यावसायिक परामर्श लिन दाहालकहाँ धाउन थालेका छन् । सतासी महिला मौरीपालक सहकारी संस्थाकी व्यवस्थापक समेत रहनुभएका दाहालको दैनिकी महिलालाई सफल उद्यमी बन्न सल्लाह दिँदैमा बित्छ ।

दाहालले सहकारीमार्फत सबै मौरीपालक सदस्यको मह खरिद गरेर बिक्री गरिदिने व्यवस्थासमेत मिलाउनुभएको छ । संस्थाले सदस्यलाई तालिम, प्राविधिक सहयोग र ऋण प्रदान गर्र्दै आएको छ । ८५ जना मौरीपालक महिलाले उहाँको सहकारीबाट ऋण लिएका छन् भने मौरीको गोला नै ‘लिज’मा दिने व्यवस्थासमेत संस्थाले मिलाएको छ ।

सतासी मौरीपालक सहकारी संस्थामा आवद्ध महिलाले वार्षिक रुपमा उत्पादन गरेको २२ हजार किलो मह आफँै बेच्दै आएको छ । ‘सतासी सहकारीको मह’ भने पछि बजारमा शुद्धताको ‘व्रान्ड’ नै बनिसकेको दाहाल बताउनुहुन्छ । संस्थालाई विदेशबाट समेत मह खरिदको ‘अर्डर’ आउने गरेको छ ।

सहकारीले कृषकबाट प्रतिकिलो रु ३५० का दरले खरिद गरेर प्रशोधन गरी बजारमा थोकमा प्रतिकिलो रु ५०० सय र खुद्रामा रु ६०० मा मह बेच्दै आएको छ । सहकारीले गरेको मुनाफासमेत संस्थाका सदस्यको हितमा खर्च हुने संस्थाकी अध्यक्ष केशमाया थेबे बताउनुहुन्छ । शिवसताक्षी–७ को कुनै टोल छैन, जहाँ मौरीको गोला नदेखियोस् र मौरी नभुन्भुनाएको होस् । वर्षमा एकपटक तोरीबारी खोज्दै संस्थाले सबैका मौरी चराउन गोला बोकेरै मोरङको केराबारी, लेटाङ र सिसौनीतिर लैजाने गरेको छ । मौरी चराएबापत स्थानीय तोरी खेती गरेका किसानले समेत संस्थाबाट रोयल्टी पाउने गरेका छन् ।

शिवसताक्षी–७ कै ३५ वर्षीया सरु दाहाल पनि मौरीपालन व्यवसायमा लाग्नुभएको छ । उहाँले देवीमाया नै आफ्नो प्रेरणाको स्रोत भएको बताउनुभयो । मौरीपालन स्रोत केन्द्रबाट दुई गोला मौरी लिजमा लिएर व्यवसाय सुरु गर्नुभएकी सरु अहिले आएको परिवर्तन बारे भन्नुहुन्छ, “सुुरुमा नानीहरूलाई स्कुलमा खाजा खुवाउने पैसा पनि हुँदैनथ्यो । तर आज यही व्यवसायबाट छोरालाई भारतको बेङ्लोरमा रेडियोग्राफी पढाउँदैछु ।”

सरुसँग हाल ४० गोला मौरी छन् । वार्षिक रु पाँच लाखदेखि रु छलाख आम्दानी गर्दै आउनुभएकी दाहालले सय गोलासम्म मौरी पालेको अनुभव सुनाउनुभयो । एक गोला मौरीबाट एक पटकमा पाँच किलोदेखि २० किलोसम्म मह उत्पादन हुने गर्छ ।

आर्थिक समृद्धिको मुहान
टीका र चुरा किन्नसमेत श्रीमान्सँग आश्रित धेरै महिलालाई मौरीपालन व्यवसायले आत्मनिर्भर मात्र बनाएको छैन, आर्थिक समृद्धिसमेत ल्याएको छ । मौरीपालन गरेरै धेरैले पक्की घर र सहरमा आकर्षक घडेरी जोडेका छन् भने कतिले छोराछोरीलाई उच्च शिक्षा दिलाएका छन् ।

मौरीपालनबाटै समृद्धिको बाटो पहिल्याएकी अर्की महिला हुनुहुन्छ–शिवसताक्षी–८ सुन्दरपुरकी ४७ वर्षीया एकल महिला फुलकुमारी चौधरी । २०५८ सालमा पति गुमाएपछि चार सन्तान स्याहार्न धौधौ परेको थियो । देवीमायाकै सल्लाहमा फुलकुमारीले २०६६ सालदेखि मौरीपालन गर्दै आउनुभएको छ । घरैमा पालेका २१ गोलाबाट वार्षिक रु अढाई लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको उहाँले अहिले समाजमा सफल उद्यमी भएर स्वावलम्बी जीवन बिताइरहनुभएको छ ।

मौरीपालक जिल्ला सङ्घका अध्यक्ष विष्णु सङ्ग्रौलाले वार्षिक रुपमा जिल्लाका मौरीपालक कृषकलाई तालिम र मौरी चरण व्यवस्था गर्न सहयोग गर्दै आएको बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले झापामा वार्षिक ६० हजार किलो मह उत्पादन हुँदै आएको जानकारी दिनुभयो । कार्यालयले आव २०७१÷७२ मा युवा लक्षित कार्यक्रमअन्तर्गत ८०० गोला मौरी किसानलाई अनुदान दिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा वन जङ्गलसमेत रहेको हुँदा बाहुनडाँगी, शान्तिनगर, बुधबारे होक्से, खुदुनाबारी, शिवसताक्षीलगायत स्थान मौरीपालनका लागि महत्वपूर्ण रहेको छ ।

कार्यालयले मह प्रशोधनका लागि पचास प्रतिशत अनुदानमा मह हार्वेस्ट मेसिनसमेत कृषकलाई उपलब्ध गराउँदै आएको छ । गत आवमा आठ वटा मेसिन वितरण गरिएको थियो । शिवसताक्षीमा मौरीपालनको जग बसाएकी देवीमाया राज्यले मौरीपालनमा लागेका महिलालाई सहुलियत र सुविधा दिनुपर्ने बताउनुहुन्छ । रासस

Leave a Reply