माथिल्लो कर्णालीः स्वदेशी लगानीमा निर्माण गर्न माग

नेपाली लगानीमा नै निर्माण

काठमाडौँ, माघ १९  – उपप्रधानमन्त्री चित्रबहादुर केसीले माथिल्लो कर्णाली जलविद्युत् आयोजना नेपाली लगानीमा नै निर्माण हुनुपर्नेमा जोड दिनुभएको छ ।

माथिल्लो कर्णाली सरोकार समितिले सोमबार  यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले मुलुककै सबैभन्दा सस्तो आयोजना विदेशीलाई दिने प्रवृत्ति नै गलत भएको बताउनुभयो ।

भारतीय कम्पनी माल्लिाकार्जुन राव (जिएमआर)ले सो आयोजना अगाडि बढाउन लागेको छ । लगानी बोर्डले जिएमआरसँग आयोजना विकास सम्झौता समेत गरिसकेको पनि हालसम्म स्थानीय तहमा आयोजना अगाडि बढाउने विषयमा कुनै काम अगाडि बढ्न सकेको छैन ।

उपप्रधानमन्त्री केसीले प्रतियुनिट लागत रु दुईभन्दा कम लगानीमा निर्माण हुने आयोजना विदेशीलाई दिएर मुलुकको साधन र स्रोतमाथि गलत काम गरिएको विचार व्यक्त गर्दै नेपाली साधन र स्रोत नै प्रयोग गरेर आयोजना अगाडि बढाउन सकिने बताउनुभयो ।

कुल ९०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बोर्डले भारतीय कम्पनी जिएमआरसँग सम्झौता गरेको छ । ऊर्जा क्षेत्रका जानकारले सो आयोजनाबाट चार हजार ४०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने जनाउँदै आएका छन् ।

समितिका अध्यक्ष भरतबहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार गोविन्दसिंह थापाले सुलभ साधन र स्रोतको उपयोग नेपाली नै गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा माथिल्लो कर्णाली जलविद्युत् आयोजना र त्यसले पार्ने प्रभावका विषयमा समेटिएको वृत्तचित्रसमेत प्रदर्शनी गरिनाका साथै राससका फोटो पत्रकार रोशन सापकोटा, गायिका निलिमा पुन सहित चार जनालाई सम्मान गरिएको थियो ।

Leave a Reply