एनसेल स्वामित्व हस्तान्तरणका विषयमा संसदीय समितिमा जानकारी

3
ncell

काठमाडौँ, १९ माघ । दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘एनसेल’को स्वामित्व हस्तान्तरण हुँदा राज्यले कोषमा जम्मा हुने राजस्व न्याय सम्बतरुपमा र विवेकपूर्ण तवरले निर्णय लिन सांसद्ले सुझाएका छन् ।

सार्वजनिक लेखा समितिको आजको बैठकमा टेलिया सोनेराले मलेसियन कम्पनी एक्यिटलाई स्वामित्व हस्तान्तरणका सिलसिलामा पूरा गर्नुपर्ने प्रक्रिया र त्यस क्रममा राज्यलाई उपलब्ध गराउनुपर्ने पुँजिगत लाभ करका विषयमा सांसद्ले जानकारी लिनुभएको थियो । बैठकमा समितिका सभापति जनार्दन शर्माले स्वामित्व हस्तान्तरणका क्रममा राज्यले पाउनुपर्ने राजस्व र त्यसका विषयमा अपनाउनुर्ने प्रक्रिया स्पष्ट र विवेकपूर्ण तवरबाट हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सूचना तथा सञ्चार मन्त्रालयसँग सम्बन्धित निकाय र आन्तरिक राजस्व विभागले राज्यलाई नोक्सान नहुने गरी निर्णय लिन सुझाउनुभयो ।

समितिका सदस्य डा मिनेन्द्र रिजालले मुलुकमा सञ्चालित अन्तर्राष्ट्रिय स्वामित्वका कम्पनीको स्वामित्व परिवर्तन हुँदा राज्यको एक रुपैँया पनि गुम्न नहुने बताउँदै त्यसतर्फ राज्यका निकायको ध्यान जानुपर्ने बताउनुभयो । पूर्व सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका डा रिजालले भन्नुभयो, “एनसेलले कमाएको लाभांश र स्वामित्व हस्तान्तरणका समयमा मुलुकले पाउनुपर्ने राजस्व गुम्न हुन्न, त्यसतर्फ आन्तरिक राजस्व विभागको ध्यान जानुपर्छ ।”

सांंसद् पशुपति चौलागाईँले रु १० करोडमा स्थापना भएको कम्पनी रु एक खर्ब ४० अर्बमा स्वामित्व हस्तान्तरण हुँदा अपनाउनुपर्ने प्रक्रिया पारदर्शी र राज्यले फाइदा पुग्ने गरी हुनुपर्नेमा जोड दिनुभयो । एनसेल ८० प्रतिशत अन्तर्राष्ट्रिय एवम् २० प्रतिशत स्वदेशी लगानीमा सञ्चालन भएको कम्पनी हो । समितिका अर्का सदस्य वीरेन्द्र महतोले एनसेलले राज्यलाई बुझाउनुपर्ने सबै कर बुझाएको र स्वामित्वका विषमा मात्र कानुनी दुविधा रहेकाले प्रक्रियामा रहेको बताउनुभयो ।

समितिलाई जानकारी दिने क्रममा सूचना तथा सञ्चार सचिव दिनेशकुमार थपलियाले स्वामित्व हस्तान्तरणका विषयमा कानुनी अस्पष्टता रहेकाले त्यस विषयमा अध्ययन भइरहेको बताउनुभयो । उहाँले त्यस विषयमा मन्त्रालयअन्तर्गतको दुरसञ्चार प्राधिकरणलाई आवश्यक निर्णय लिनका निर्देशन दिएको जानकारी दिनुभयो । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले विषय वस्तुको गाम्भिर्यलाई ध्यान दिएर न्यायसङ्गत तवरले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

एक उत्तर छोड्न