चितवनमा काँग्रेस नगर निर्वाचनको नतिजा

निर्वाचन परिणाम पछि कोइराला पक्ष निराश : कोइराला छाड्ने देखिंदैछ लहर

रत्ननगर (चितवन), २० माघ । नेपाली काँग्रेस चितवनको भरतपुर उपमहानगर समितिमा भरत अधिकारी निर्वाचित हुनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी मिलनबाबु श्रेष्ठलाई ५११ मतले पछी पार्दै अधिकारी विजयी हुनुभएको हो । अधिकारीले दुई हजार ७६१ मत ल्याउनुभयो भने श्रेष्ठले दुई हजार २५० मत ल्याउनुभयो । ढिला गरी मतगणना सम्पन्न भएर मङ्गलबार साँझ सार्वजनिक गरिएको हो ।

यस्तै, उपमहानगरको सचिवमा किशोर गुरुङ र कोषाध्यक्षमा कमला ढुङ्गाना निर्वाचित हुनुभएको काँग्रेसले जनाएको छ । यही माघ १६ गते जिल्लामा सबै नगर र उपमहानगरमा निर्वाचन भएको थियो । चितवनको रत्ननगर नगरपालिकामा रुपनराज घिमिरे सभापतिमा निर्वाचित हुनुभएको छ । सम्मरबहादुर मल्ललाई २४६ मतले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो ।

सचिवमा देवेन्द्र भुजेल र कोषाध्यक्षमा शिव बराल निर्वाचित हुनुभएको काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले जानकारी दिनुभयो । पूर्वी चितवनको खैरहनी नगर समितिमा तेजप्रसाद बर्ताैलालाई ४३७ मतले पछि पार्दै शशी खनियाँ विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, कालिका नगरपालिकाको नगर समिति अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित हुनु भएको जनाइएको छ । सचिवमा रेशम खड्का र कोषाध्यक्षमा नारायण कँडेल निर्वाचित हुनुभयो ।

यस्तै, पश्चिम क्षेत्रका नगरपालिकामा समेत निर्वाचन सम्पन्न भएको काँग्रेस चितवनले जनाएको छ । दक्षिण माडी नगरपालिकाको नगर सभापतिमा कमल भुसाल, नारायणी नगरपालिकामा टीकाराम भट्टराई र चित्रवन नगरपालिकाको सभापतिमा शालिग्राम पौडेल निर्वाचित हुनुभएको काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले जानकारी दिनुभयो । यहाँ अब २२ गते क्षेत्र र २५ गते जिल्ला अधिवेशन हुनेछ ।

Leave a Reply