एएफसी कप प्लेअफ भोलिदेखि, थ्रीस्टारले एर्चिमको सामना गर्ने

एएफसी कप प्लेअफ भोलिदेखि, थ्रीस्टारले एर्चिमको सामना गर्ने
काठमाडौँ, भदौ ४- एएफसी कप फुटबलको प्लेअफ छनौटका लागी आइतबार नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टारले आयोजक मंगोलियाको एर्चिम फुटबल क्लबसँग खेल्दैछ।
खेल स्थानीय समयअनुसार दिउँसोको ३ बजे मंगंोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा सुरु हुनेछ। यो नेपाली समय अनुसार पौने १२ बजे खेल सुरु हुन्छ।
थ्रीस्टार नेपालको पछिल्लो राष्ट्रिय लिग बिजेता हो भने एर्चिम मंगोलियाको राष्ट्रिय लिग बिजेता हो। दुवैै टोलीले फेडेरेसनकै कृत्रिम मैदानमा अभ्यास गरिरहका छन्। एर्चिम क्लब थ्रिस्टारका लागी नौलो प्रतिद्वन्द्वी होइन, यी दुई टिमको प्रेसिडेन्ट कप फुटबलमा भेट भइसकेको छ। थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराज केसीले टोली अर्को चरणमा छनौट हुने लक्ष्यका साथ मैदानमा उत्रने बताए।
एएफसी कप प्लेअफको छनौट प्रतियोगिता एक दिन पहिले शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अर्को चरणमा जाने तरिकाले खेल्ने बताए।
‘एर्चिमसँग हामीले पहिले पनि खेलेका हौँ तर खेलाडीहरू परिवर्तन भैसकेकाले यसै भन्न सकिन्न,’ उनले भने, ‘एर्चिमसँगको खेलमा हामी राम्रो नतिजा दिनेछौँ। उनीहरुको होम ग्राउण्ड जस्तै भएपनि हामी त्यो चुनौती पार गर्न तयार छौँ।’
थ्रीस्टार ४–४–२ कै रणनितीमा मैदानमा जाने उनले बताए। खेलका क्रममा थ्रिस्टारले निलो जर्सी र मोजामा खेल्नेछ।
थ्रीस्टारका कप्तान विक्रम लामाले आफ्नो टिम जितका लागि अगाडि बढेको बताए।
‘हामी जसरी हुन्छ राम्रो नतिजा ल्याउनेछौँ,’ कप्तान लामाले भने, ‘हामी सक्दो खेल्नेछौँ।’
उनले एर्चिम र नागावल्र्डको टिम तथा फुटबलबारे आफुहरुलाई त्यत्ति थाहा नभएपनि खुलेर खेल्ने उल्लेख गरे । थ्रीस्टारको टोलीमा राष्ट्रिय टोलीबाट खेल्ने ७ जना खेलाडी छन् भने मंगोलियाको टिममा १० जना राष्ट्रिय टोलीबाट खेल्ने खेलाडी छन्। अभ्यासका क्रममा डिफेन्डर सरोज दाहालको खुट्टामा चोट लागेको भएपनि एर्चिमसँगको खेलमा खेल्नसक्ने कप्तान विक्रम लामाले बताए।
यसैगरी अर्का खेलाडी रोशन मललाई रुघाले सताएपनि उनले खेल्ने बताइसकेका छन्। यहाँको मौसम र मैदानले गर्दा छनौट चरणका दुवैै खेल खेल्न सजिलो हुने थ्रीस्टारका खेलाडीहरुले बताइसकेका छन्।
‘हामी २–३ दिन अगाडिदेखि यहाँ आइपुग्दा यहााको मौसममा भिजेर अभ्यास गर्न पाएका छौं,’ प्रशिक्षक केसीले बताए।

Leave a Reply