अर्चले गाविसको स्वाथ्यकर्मी कार्यालयमा नबस्दा सेवाग्राहीलाई सास्ती

स्वास्थ्य चौकी

 

रामपुर (पाल्पा),  भदौ ५ – स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नबस्दा सेवाग्राही मर्कामा परेका छन् । जिल्लाको विकट र दुर्गममा पर्ने अर्चले गाउँ विकास समितिको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी कार्यालयमा नबस्दा बिरामी मारमा परेका हुन् ।

बिरामी भएर उपचारका लागि स्वास्थ्य चौकी पुग्नुभएका अर्चले २ सातदोबाटोका सञ्जय सुनारी स्वास्थ्य चौकीमा कोही नभेटिएपछि उहाँले निजी मेडिकलमा उपचार गराएको बताउनुभयो । “बिरामी भएर उपचारका लागि कार्यालयमा गएको स्वास्थ्यकर्मी कोही रहेनछन्, कार्यालय सहयोगी मात्र भेटेँ, फर्किएर स्थानीय मेडिकलमा उपचार गरेको रु एक हजार ८००को औषधि लिएँ” – उहाँले भन्नुभयो ।

स्वास्थ्य चौकीमा केही विशेषज्ञ डाक्टरबाट उपचार हुन्छ कि भनेको त कार्यालयमा कर्मचारी पनि बस्दैनन्, जनताले स्थानीय मेडिकलमा महँगोमा उपचार गर्नुपरेको उहाँले गुनासो गर्नुभयो ।

त्यस्तै श्याम मश्राङीले पनि आफ्नो छोरो बिरामी भएर उपचारका लागि स्वास्थ्य चौकी जाँदा कार्यालयमा स्वास्थ्यकर्मी नभेटिएपछि स्थानीय मेडिकलमा उपचार गराएको बताउनुभयो ।

स्थानीय मेडिकलमा दिनहुँ बिरामीको भीड लाग्ने गर्छ तर स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी बस्दैनन् । यस क्षेत्रका निजी मेडिकलमा बिरामीको चाप बढ्दै गएको स्थानीयवासीले बताएका छन् ।

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नबस्दा यहाँ कार्यालय सहयोगीले औषधि वितरण गर्ने गरेको स्थानीयवासी होम राईले जानकारी दिनुभयो । स्वास्थ्य चौकीका इन्चार्ज मीनबहादुर रानाले भने आफू सदरमुकाम गएको बताउँदै अर्का कर्मचारी बिदामा बसेको जानकारी दिनुभयो ।

कर्मचारीहरु सकेसम्म दुर्गम र विकट क्षेत्रमा बसेर जनतालाई सेवा दिन अगाडि बढ्दैनन् । दुर्गम क्षेत्रका कर्मचारीले विभिन्न काम देखाएर जिल्ला सदरमुकामतिर बस्ने चलनले जनताले समयमा सेवा पाउन नसकेका हुन् ।

Leave a Reply