अबको सङ्घर्ष सुशासन र समृद्धिका लागि : दाहाल

दाहाल

काठमाडौं, भाद्र ५ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको संघर्ष सुशासन, समृद्धि र विकासका लागि हुनुपर्ने बताएका छन् ।
सुशासन, विकास र समृद्धिबिना राजनीतिक परिवर्तन दीगो हुन नसक्ने उनको भनाइ छ ।

आइतबार पश्चिमाञ्चल विकास मञ्चका प्रतिनिधि मण्डलसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री सो कुरा बताएका हुन् । उनले भने, ‘ठूल–ठूला बलिदानी र संघर्षबाट राजनीतिक परिवर्तन भयो, नयाँ संविधान बन्यो । अबको हाम्रो संघर्ष सुशासन, स्थिरता, विकास र समृद्धिका लागि हो ।

सुशासन, विकास र समृद्धिबिना राजनीतिक परिवर्तन दीगो हुन सक्दैन ।’ प्रधानमन्त्री प्रचण्डले मधेस–पहाड र हिमाललाई जोडेर आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने, छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरी दुवै देशबाट नेपालको हितका पक्षमा काम गर्ने तथा विकास समृद्धि र पुनर्निर्माणको दिशामा देशलाई डोर्‍याउनु आफ्नो प्राथमिकता भएको बताए ।

मञ्चका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा गएको मञ्चको प्रतिनिधिमण्डलले पश्चिमाञ्चल क्षेत्रको विकासका साझा अवधारणा र चुनौतीबारे प्रधानमन्त्रीलाई अवगत गराउँदै कठिन घडीमा बनेको सरकारलाई सफल बनाउन आफूहरुको पूर्ण सहयोग रहने जानकारी गराइएको मञ्चका महासचिव धर्मराज बरालले बताए ।

Leave a Reply