विनोद चौधरीलाई ‘एशियन म्यान अफ द इयर’ अवार्ड

विनोद चौधरी

काठमाडौं,भदौ ५ – चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई यस वर्षको ‘एशियन म्यान अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको छ ।

नेपालमा गतवर्षको विनाशकारी भूकम्पपश्चात चौधरीको नेतृत्वमा सञ्चालित मानवीय र परोपकारी कार्यहरुको सम्मानस्वरुप अमेरिकास्थित मानवतावादी संस्था ‘वी केयर फर ह्युम्यानिटी’ ले उक्त अवार्ड प्रदान गरेको हो ।

‘वी केयर फर ह्युम्यानिटी’ले आफ्नो तेश्रो शिखर सम्मेलन तथा चौथो ‘ग्लोवल अफिसियल्स अफ डिग्निटी अवार्ड’ का अवसरमा न्यूयोर्कमा स्थानीय समयअनुसार शुक्रवार राती आयोजित कार्यक्रममा विनोद चौधरीलाई उक्त सम्मान प्रदान गरेको हो । कार्यक्रम न्यूयोकस्थित संयुक्त राष्ट्रसंघ भवनमा आयोजना गरिएको थियो ।

चौधरीसँगै पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी, भारतीय नेतृ तथा तमिलनाडुका मुख्यमन्त्री जयललिता, युगोस्लाभियाका चौधौं राष्ट्रपति स्टेपन मेसिक, केन्याका दशौं उपराष्ट्रपति स्टेफन कालोन्जो मुस्योका, इक्वेडरका पूर्व राष्ट्रपति रोजालिया आर्टिगालाई पनि विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।

चौधरी ग्रुपको परोपकारी निकाय चौधरी फाउन्डेसनले २०७२ को विनाशकारी भूकम्पपश्चात नेपालमा विविध मानवीय कार्यहरु सञ्चालन गरेको बताएको छ, जसअन्तरगत पहिलो चरणमा तत्काल राहतका कार्यक्रमहरु सम्पन्न गरी पीडितका लागि ट्रान्जिसनल सेल्टरको निर्माण, भूकम्पप्रभावित क्षेत्रमा विद्यालय भवन निर्माणलगायत कार्यहरु सञ्चालनमा छन् ।

Leave a Reply