माओवादी केन्द्र फुटाउन को–को कस्सिए ?

माओवादी

काठमाडौं, भदौ ६ – शान्ति प्रक्रियामा आएपछि सुदृढ बनेको माओवादी पहिलो संविधान सभा विघटनपछि पार्टी जीवनमा धेरै अकल्पनीय विपत्ति भोग्यो ।

गति छाडेको भन्दै युद्धकालका सहकर्मीहरुले उपियाँले मरेको कुकुरलाई छाडेजस्तो एकपछि अर्को छाड्दै गएपछि प्रचण्ड माओवादीको दोस्रो संविधान सभामा निर्वाचनको परिणामले होसहवास नै गुम भयो ।

बाबुरामले समेत राजनीतिको नयाँ पसल खोलेर पारपाचुके गरेपछि थप रन्थनिएका प्रचण्ड बादल समूह ल्याएर केही सुविस्ताको स्वास फेर्दै पार्टीको गिरेको पुरानो साख फर्काउन यतिबेला मसक्क कस्सिएका छन्  र, पार्टी मजबुत बनाउन प्रचण्ड यतिबेला सिंहदरबारको कुर्सी भरपुर उपयोग गर्ने रणनीतिमा छन् । तर, प्रचण्ड र उनका केही सहयोगीले चाहेर मात्र के गर्नु ? प्रचण्डका लागि कालान्तरमा अहिले गरेको सत्तारोहणको मूल्य नै चर्को पर्ने संकेत देखापर्न थालेको छ ।

‘आफू ताक्छु मूढो, बञ्चरो ताक्छ घुँडो’ भनेजस्तो प्रचण्ड पार्टी बनाउन लागे पनि केही नेता भने पार्टी समाप्त पार्ने डरलाग्दो खेलमा लागेका छन् । स्रोत भन्छ, ‘माओवादीकै केही नेताको डरलाग्दो अभिष्ट पूरा भएमा त्यो माओवादीको राजनीतिक भविष्यकै लागि अहिलेसम्मकै गम्भीर धक्का हुनेछ ।’

अहिले माओवादीले गरेको मन्त्री छनौटमा चौतर्फी असन्तुष्टि छ । महिलादेखि विभिन्न जनजातिहरु प्रचण्डले मनपरी गरेको भन्दै धारे हात लगाइरहेका छन् । स्रोतका अनुसार मओवादीमा चुलिएको यही असन्तुष्टि क्यास गर्न अहिलेदेखि ने विरोधीहरुले चलखेल थालेको र पार्टीभित्रैका केही विभीषणको भूमिका निर्वाह गर्न खडा भएको रिपोर्ट बालुवाटार पुगेको छ ।

स्रोतका अनुसार, मालदार मन्त्रालय ताकेर अन्तिममा जिल्लाराम परेका प्रभु साहलगायत नेता प्रचण्डलाई देखाइदिने भने लागेका छन् । बाबुरामको नयाँ शक्तिमा जान सुरुमा खुट्टो उचाले पनि पछि रोकिएका साहसँगै सल्यानका सांसद टेकबहादुर बस्नेतले मोर्चा कसेको खासखुस पेरिसडाँडातिर चल्न थालेको छ ।

यो खबर आजको साँगु साप्ताहिकमा प्रकाशित छ |

Leave a Reply