रकम असुली गरी फरार

गमगढीको

मुगु, माघ  २१  – जिल्ला सदरमुकाम गमगढीको नयाँ सडकमा स्थानीयवासीको घरमा दर्ता नै नभएको गैरसरकारी संस्थाको कार्यालय राखेर जागिर दिन्छु भन्दै एकजनाले रकम असुली गरी फरार भएका छन् ।

पश्चिम खत्याड भेगमा पर्ने श्रीकोट–२ बस्ने कर्णसिंह बिसी (टमटा)ले कर्णाली शान्ति विकास समाज सेवा नेपाल नामक स्थानीय गैरसरकारी संस्थाका लागि कर्मचारी आवश्यकता परेको भन्दै सार्वजनिक सूचना गरी जागिरका लागि दरखास्त दिएका युवायुवतीबाट रकम असुलेको विषय सार्वजनिक हुन लागेपछि उनी यसरी भागेका हुन् ।

आकर्षक तलबको व्यवस्था संस्थाले गर्छ तपाईंहरुले संस्थाको विश्वासका लागि नियुक्ति बुझ्ने बेलामा रु ५० हजार दिनुपर्छ भन्दै बिसीले धु्रव बुढा र सम्झना बुढाबाट रु ३५ हजार, रुपबहादुर नेपालीबाट रु ५० हजार लिइसकेका थिए । सम्झना बुढा जुम्ला जिल्ला कनकासुन्दरी गाविसकी भए पनि उनी कैलालीमा बस्दै आएकी थिइन् । उनलाई संस्थाको लेखापाल पदमा जागिर दिने भन्दै बिसीले मुगु बोलाएका थिए ।

आफूलाई रकमका कुरा नगरेको र मासिक रु २५ हजार तलब हुने बताएको तथा अन्य १५ जनाले पाँच हजारदेखि ५० हजारसम्म रकम बुझाएको सामाजिक परिचालकको पदका लागि दरखास्त दिएका श्रीनगर गाविसका स्थानीयवासी कृष्ण हमालले बताउनुभयो ।

नियुक्ति लिँदा रु ५० हजार धरौटी राख्नुपर्ने भन्दै बिसीले दरखास्त दिएका युवायुवतीलाई एक्लाएक्लै भेट्ने गरेका थिए । कतिपयले पहिलोपटक रु पाँच हजार, २० हजार, ३० हजारसम्म बुझाए भने कतिपयले गत आइतबार ४ बजे नियुक्ति लिँदा रकम बुझाउने तयारी गरिरहेका थिए । त्यही क्रममा जिल्ला प्रशासन कार्यालयका एक प्रतिनिधि र केही सञ्चारकर्मी कार्यालयमा पुगेर बिसीसँग सोधपुछ गर्दा संस्थाको आधिकारिक प्रमाण भने भेटिएन ।

उनी भागेपछि बल्ल जागिर पाउने आश गरी रकम दिएका युवायुवती पछुताएका छन् । रु ५० हजार बुझाएका रुपबहादुर नेपालीका काका हर्क नेपालीले भन्नुभयो, “तपाईं अघिदेखि नै कति रकम दिनुभयो भनेर सोध्नुहुन्थ्यो मैले त पाएको जागिर फुत्किन्छ कि भनेर केही भन्न सकिनँ, त्यो दलाल रहेछ ।” राम्रो जागिर पाउने भनेपछि तीन दिनसम्म बजारमा सरसापट गरेर ५० हजार रुपैयाँ जम्मा गरी बुझाएको उनले बताए । बिसी भागेपछि पीडित बनेका युवाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

त्यस्तै, बिसीले कार्यालय प्रयोजनका लागि घर भाडामा लिँदा घर मालिक सिंहबहादुर बुढासँग एकैचोटि १७ वर्षको सम्झौता गर्ने बताएपनि हरेक वर्षमा सम्झौता गर्ने भनेपछि एक वर्षको सम्झौता गरेको घर मालिक बुढाले बताए । मासिक रु पाँच हजार ५०० घर भाडा तिर्ने गरी एक महिनादेखि बिसीले कार्यालय खोलेको बुढाले बताए । नोकरीको आशा देखाएर रकम असुल गरी ठगी गर्ने बिसीको जिल्ला प्रहरी कार्यालयले हुलिया तयार पारी खोजी गरिरहेको बताएको छ ।

Leave a Reply