नेपाली एयरबस को ककपीटमा लेजर आक्रमण ?

एयरबस

काठमाडौं, भदौ ७ -गत शुक्रबार बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ए–३२० विमान काठमाडौं भित्र छिरीसकेको थियो । साँझको बेला अध्यारो उपत्यकाभित्र आइसकेको जहाज ठैंचु नाघेर हात्तिवन माथीको आकासमा थियो ।

त्यहीबेला ककपिटमा विपरित दिशा (जडीबुटी) बाट विकिरण उत्सर्जन गर्ने लेजर लाइटले ककपिटमा आक्रमण गर्‍यो । १ सय ४० यात्रु बोकेर आइरहेको एयरबस लाई अवतरण गराउन खोजिरहेका क्याप्टेनका आँखामा असर पर्‍यो । उनीहरु झस्किए । नेपाली आकासमा पाइलटहरुले यस्तो अवस्था यसअघि कहिल्यै ब्यहोरेका थिएनन् । विदेशी मुलुकमा बेलाबेला भइरहने यस्तो समस्या नेपाली पाइलटले गत शुक्रबार पहिलोपटक फेस गरेको थिए ।

लेजरलाइटले उत्सर्जन गरेको हरियो चुम्बिकए विकिरणले ककपिटको कमाण्ड सम्हालिरहेका चालकदलको आँखामै हानेपछि अप्ठ्यारो अवस्था पैदा भयो । धन्न त्यो विमानको कोपाइलट सिटमा बसेका चालकले यसबारे पूर्व जानकारी र अध्ययन गरेकाले सावधानी अपनाइ हाले । क्याप्टेनलाई तत्कालै विमानस्थल बाहिरबाट कुनै अपराधिक मानसिकता भएकाले लेजर लाइट हानेको हुन सक्ने विफ्रिङ्ग गर्दै उनले विमानलाई ओभरसुट वा गो-अराउन्ड (दायाँबाया मोड्ने कार्य) गराएनन् ।

१६ सय मिटर हाराहारी उचाईबाट बिस्तारै डिसेन्ड (झर्दै गरेको) विमान हात्तिवन, इमाडोल कटाउदै जडीबुटी तर्फ आयो । लेजरलाइट ककपिटमा परीनै रह्यो। स्रोतका अनुसार त्यो लेजरलाइटले करिब ४० सेकेन्डसम्म ककपिटमा पाइलटलाई हानि पुर्‍यायो । जब विमान विमानस्थलको रेखाभित्र पस्यो अनि मात्रै लेजरलाइटको आक्रमण हट्यो ।

चालकदलले विमानलाई सेफ ल्याण्डिङ्ग गरीसकेपछि एयरट्राफिकलाई ग्राउण्डबाट खबर गरे । तत्काललै नेपाल वायु सेवा निगमका चालकदलले यस्तो गतिविधिले जहाज दुर्घटनामा पर्न सक्ने खतरा औल्याउदै तत्कालै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिखित उजुरी हाले । यतिले मात्रै नपुगेर सोमबार पनि निगमकातर्फबाट घटनाबारे विस्तृत प्रतिवेदन पनि प्राधिकरणलाई दिइएको छ ।

उक्त प्रतिवेदनले विमानस्थल नजिक हुँदै गर्दा उचाईबाट ओर्लिदै गरेको विमानमा यसरी लेजर लाइटको आक्रमण भए ठूलो दुर्घटना हुन सक्ने जनाउदै कडाईका साथ नियमन गर्न भनेको छ । स्रोतका अनुसार, विदेशमा यस्तो आक्रमणमा पर्ने विमानले लेजरको फोटो लिई जिपिएसका आधारमा लेजर हानिएको स्थान पहिचान गर्दै कडा कारवाही हुन्छ । नेपालमा भने यस्तो प्रविधि छैन। कडा लेजर लाइट परे चालकदलले अवतरण गर्न नसक्ने वा दुर्घटनामै पर्न सक्ने खतरा हुन्छ ।

आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले यो खबर लेखेका छन् ।

 

Leave a Reply