मन्त्रीको टेलिफोन सम्पर्क नभएपछि…

पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेल

नुवाकोट (तारुका),  माघ २१- स्थानः नुवाकोटको तारुकास्थित नेकपा (एमाले) जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाको अस्थायी टहरो, जहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेल निकै छट्पटीमा देखिनुहुन्थ्यो ।

मन्त्री पोखरेलले कोटको खल्तीबाट मोबाइल झिक्नुभयो । नम्बर थिच्दै फोन गर्ने प्रयास गर्नुभयोे । तर मोबाइलमा ‘नो नेटवर्क’ सिग्नल देखियो । पुनः थिच्नुभयो, फेरि पनि नेटवर्क देखिएन ।

कुर्सीमा बस्नुभएको मन्त्री जुरुक्क उठ्नुभयो । वरपर टावर हेर्दै फेरि मोबाइल थिच्नुभयो । मोबाइलले फेरि पनि नो सिग्नलको सङ्केत नै गरिरहेको थियो ।

छट्पटिरहनु भएका मन्त्रीले फेरि कोटको खल्तीबाट अर्को मोबाइल निकालेर नम्बर डायल गर्नुभयो । फेरि पनि हालत पहिलेकै दोहोरियो । त्यसबेला मन्त्री पोखरेलले निकै हतासिँदै भन्नुभयो, “मेरो फोन गर्नुपर्ने जरुरी काम थियो, मोबाइलमा नेटवर्क नै छैन ।”

त्यसबेलासम्म वरिपरि मानिसको घँुइचो लागिसकेको थियो । सबैले मन्त्रीतिर हेर्न थाले । आफ्नो अस्थायी टहरोबाट निस्किँदै एमाले जिल्ला अध्यक्ष खतिवडाले थप्नुभयो, “यहाँ त मोबाइलको टावर नै आउँदैन, देश विदेशमा आफन्तसँग कुरा गर्न वडो मुस्किल छ ।”

मन्त्रीले अचम्म मान्दै सोध्नुभयो, “यहाँ कहिलेपनि मोबाइलको नेटवर्क आउँदैन ? अनि कहाँ पुगेर फोन गर्नुहुन्छ ?” । मन्त्रीको जिज्ञासा नसकिँदै स्थानीय कृष्णबहादुर माझीले थप्नुभयो,“ यहाँ त नेटवर्क नै आउँदैन, बरु मन्त्रीज्यूले मोबाइलको टावर राखिदिन पहल गरिदिनुप¥यो ।” माझीसँगै अरुले पनि मन्त्रीलाई यस्तै आग्रह गरे ।

नुवाकोट क्षेत्र नं ३ बाट विसं २०६४ सालमा विजयी तथा तत्कालीन सूचना तथा सञ्चारमन्त्री पोष्टबहादुर बोगटीले सो क्षेत्रमा नेपाल टेलिकमको टावर राख्नका लागि निकै प्रयास गर्नुभएको थियो । तर उहाँको निधनपछि टावर राख्ने काम हुनसकेको छैन ।

स्थानीय बासिन्दाले धेरैपटक टावर राख्न पहल गर्दा पनि काम अघि बढ्न सकेको छैन । राजधानीबाट नजिकैको दूरीमा रहेको भएपनि नुवाकोटको तारुका क्षेत्रमा टेलिकमको टावर छैन । स्थानीयले विगतमा भएका प्रयास मन्त्री पोखरेललाई सुनाए ।

“यस बारेमा सूचना तथा सञ्चार मन्त्री शेरधन राईसँग कुरा गर्छु”– मन्त्री पोखरेलले स्थानीयलाई वचन दिनुभयो ।

भूकम्पपीडितका लागि बनाइएका अस्थायी भवन हस्तान्तरण गर्न मन्त्री पोखरेल सोमबार तारुका पुग्नुभएको थियो । समय अघि बढिरहेको थियो । त्यत्तिकैमा पन्चैबाजासहितको टोली त्यहाँ आइपुग्यो । बाजा घन्किएको आवाजले सबै मानिसको ध्यान केन्द्रित ग¥यो । अनि त्यहाँभएका सबैजना औपचारिक कार्यक्रमस्थल माझीटारतर्फ लागियो ।

यसरी स्थानीयले सधैँ भोगेको समस्या मन्त्री पोखरेलले पनि भोग्नुभएपछि टावर राख्ने कुरामा केही प्रगति भैहाल्छ कि भन्ने आशा भने स्थानीयमा जागेको अनुभूति भयो ।

Leave a Reply