भूकम्पपीडितसंग लालपुर्जा नहुँदा अनुदान रकम पाउनबाट वञ्चित

अनुदान रकम

बनेपा, भदौ ८ – काभ्रेपलाञ्चोकमा आवश्यक कागजात नभएका कारण झन्डै तीन प्रतिशत भूकम्पपीडितले सरकारले प्रदान गरेको अनुदान रकम पाउन सकेका छैनन् ।

जिल्लाको दुर्गम गाविस मानिने महाभारत शृङ्खला, डाँडापारीको गाविस, फलामेटारसहितको दुई गाविस र अन्य गाविसमा समेत लालपुर्जा नभएको र ऐलानी जग्गामा बसोवास गरेका भूकम्पपीडितले सो रकम पाउन नसकेको राष्ट्रिय पुनःनिर्माण उपक्षेत्रीय कार्यालय, धुलिखेलले जनाएको छ ।

घर बनाउन भूकम्पपीडितका लागि सरकारले प्रदान गरेको अनुदान रकम पाउन लालपुर्जा अनिवार्य हुनुपर्ने कानुनी प्रावधान रहेको छ ।

नाम निस्केर पनि लालपुर्जालगायतका कागजात नभएका कारण भूकम्पपीडितले सरकारले प्रदान गरेको अनुदान रकम पाउन नसकेको रविओपी गाविसका सचिव छविलाल श्रेष्ठले बताए ।

उनले आफ्नो गाविसमा करिब १० जना लाभग्राही रकम पाउनबाट वञ्चित भएको जानकारी दिँदै २०० जनाको हाराहारीमा गुनासो रहेको बताए । सरकारले प्रदान गरेको अनुदान पाउने ९७० जनामध्ये अहिलेसम्म सो गाविसमा ७८३ जनाले अनुदान लिइसकेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका सिनियर डिभिजन इन्जिनियर होमनाथ पौडेलले सुकुम्बासी समस्या समाधान गर्न छिट्टै नै कार्यविधि तयार हुन लागेको जानकारी दिए ।

उनले अहिलेसम्म जिल्लभरमा १४ हजारको गुनासो आएको र त्यसलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाइने उल्लेख गर्दै कतिपय गाविसमा अनुदान सम्झौताको काम सकिएको बताए ।

 

Leave a Reply