अस्पतालले एम्बुलेन्स नदिएपछि १२ किलोमिटरसम्म श्रीमतीको शव बोक्नुपर्यो

१२ किलोमिटरसम्म श्रीमतीको शव बोके

काठमाडौँ, भदौ ९ – अस्पतालले एम्बुलेन्स नदिएपछि पूर्वी भारतका एक गरिब व्यक्तिले आफ्नो श्रीमतीको शव १२ किलोमिटरसम्म बोकेर आफ्नो घर फर्कनु परेको छ ।

क्षयरोगका कारण दाना माझीकी ४२ वर्षीया श्रीमती अमांगको ओरिसाको भवानीपटना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
माझीले आफूसँग एम्बुलेन्सको भाँडा तिर्ने पैसा नभएको कारण बोकेर हिँड्नुपरेको बताएका छन् ।

अस्पतालले भने उक्त आरोपको खण्डन गरेको छ । ‘ती महिलालाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो । उनको त्यही रात नै निधन भएको थियो । उनको पतिले अस्पताललाई खबर नै नगरी शव लिएर हिँडे,’ अस्पतालका वरिष्ठ कर्मचारी बि ब्रम्हाले भने ।

यता, माझीले अस्पतालले शवलाई त्यहाँबाट हटाउन दबाब दिएको बयान दिएका छन् । ‘मैले अस्पताललाई एउटा वहान दिन आग्रह गरे । तर, अस्पतालले दिएन । म गरिब मान्छे, निजी सवारी भाँडा लिने हैसियत थिएन,’ उनले भने ।

अस्पतालको दबाब पछि बुधबार बिहान उनी आफ्नो पत्नीका शवलाई कपडाले बेरेर काँधमा बोकेर हिँड्दै आफ्नो घरतर्फ लागे । उनीसँग उनकी १२ वर्षीया छोरी पनि थिइन् ।

उनको गाउँ अस्पतालबाट ६० किलोमिटर टाढा रहेको थियो । १२ किलोमिटर हिँडेपछि केही व्यक्तिहरुले उनलाई रोके र एम्बुलेन्सको व्यवस्था गरिदिए । उनकी पत्नीको बुधबार साँझ अन्तेष्टि गरियो ।यसअघि राज्य सरकारले हरेक गरिबलाई शवबहान निःशुल्क उपलब्ध गराउने घोषणा गरेको थियो ।

 

Leave a Reply