मन्त्रालय थपेपछि मिल्यो कांग्रेसमा भागबन्डा

अघि बढे देउवा

काठमाडौं, भदौ १० – कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच भागबन्डा मिलेपछि मन्त्री छनोटको विवाद टुंगो लागेको छ ।

पौडेल पक्षले माग गरेअनुसार नै ५ मन्त्रालय दिन सभापति देउवा तयार भएपछि कांग्रेसमा मन्त्री छनोटको भागबन्डा मिलेको हो ।

बिहीबार बिहान भएको वार्तामा सभापति देउवा अल्पमत पक्षको कदर गर्दै ५ मन्त्रालय दिन सहमत भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई थप दुई मन्त्रालय दिन तयार भएपछि कांग्रेसमा भागबन्डा विवाद मिलेको हो ।

यसअघि, माओवादी केन्द्रले ८ र कांग्रेसले १३ मन्त्रालय लिने सहमति भएको थियो । तर, कांग्रेसभित्रको अन्तरिक भागबन्डा मिलाउन थप दुईवटा मन्त्रालय दिन माओवादी तयार भएको हो ।

कांग्रेसको भागमा दुई मन्त्रालय थपिएपछि शिक्षा मन्त्रालय भने अब माओवादी केन्द्रले नै राख्ने भएको छ । दाहाल सरकारमा कांग्रेसबाट सीतादेवी यादव, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, केशवकुमार बुढाथोकी, गगनकुमार थापा, शंकर भण्डारी, हृदयराम थानी, रोमी गौचन, दीपक गिरी, नवीन्द्रराज जोशी, जीवनबहादुर शाही र सूर्यमान गुरूङ सहभागी हुनेछन् । आजको राजधानी दैनिकमा खबर छ ।

 

Leave a Reply