कुहिन थाल्यो १८ करोडभन्दा बढीको रक्तचन्दन

कुहिन थाल्यो १८ करोडभन्दा बढीको रक्तचन्दन

काठमाडौं, भदौ १२ – सुरक्षाकर्मीले बरामद गरेको झन्डै साढे १८ करोडबराबरको रक्तचन्दन कुहिन थालेको छ । भारतबाट नेपालको बाटो हुँदै तेस्रो मुलुक तस्करी गर्ने क्रममा बरामद रक्तचन्दन त्यसै कुहिन थालेको वन विभागका प्रवक्ता चन्द्रमान डंगोलले बताए ।

सुरक्षाकर्मीले विभिन्न स्थानबाट विभिन्न समयमा दुई लाख २९ हजार तीन सय ४६ किलो रक्तचन्दन बरामद गरेको छ ।

नेपालमा रक्तचन्दनको बिक्री–वितरण गर्न पाउने व्यवस्था छैन । बरामद रक्तचन्दनको १० वर्षैँदेखि डम्पिङ हुँदै आएको प्रवक्ता डंगोलले बताए । तस्करीबाट बरामद गरेको रक्तचन्दनको जिल्ला वन कार्यालय र जिल्ला कार्यालयमा कडा सुरक्षा निगरानीमा राखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा एक किलो रक्तचन्दनको आठ सय पर्ने सरकारी अनुमान छ । त्यसअनुसार बरामद रक्तचन्दनको मूल्य करिब १८ करोड ३४ लाख ७७ हजार चार सय ७२ रुपैयाँ हुन्छ ।

डम्पिङ गरी राखिएको रक्तचन्दनको विषयमा सरकारले उपयुक्त निर्णय गर्न नसक्दा समस्या बनेको छ ।

भारतमा रहेको रक्तचन्दनलाई भारत, नेपाल र चीनका तस्करले अवैध रूपमा कारोबार गर्दथे । तस्करले तातोपानी र रसुवाको केरुङ नाकाबाट चीन पुर्‍याउने गर्छन् ।

नेपाल प्रहरीका प्रवक्ता माधवराज जोशीका अनुसार पछिल्लो समय भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि रक्तचन्दन कारोबार बन्द भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

Leave a Reply