अमेरिकामा एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन

क्षेत्रीय

काठमाडौँ, भदौ ११- हरेक दुई वर्षमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा सुरु भएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको आयोजनामा भएको नवौ क्षेत्रीय सम्मेलन ३५ देशका प्रतिनिधिहरूको उपस्थित  छ । एनआरएनए अध्यक्ष शेष घले तथा प्रमुख अतिथि पूर्व सभामुख सुवास नेवाङको उपस्थितिमा सुरु कार्यक्रम दुई दिन चल्नेछ

स्थानीय समय अनुसार विहान ७ बजेदेखि ८ बजेसम्म ललित शंकर योगीको योगाबाट शुरु भएको सम्मेलनमा संसारका गैह्र आवासीय नेपालीहरुको कार्यक्रममा बाक्लो उपस्थित थियो ।‘एनआरएन भिजन-२०२० एन्ड बियोन्ड’ थिमसहित दुई दिनसम्म चल्ने सम्मेलनमा एनआरएनएको संस्थागत संरचना परिवर्तनबारे छलफल र बहस हुनेछ ।

सम्मेलनको उद्घाटन सत्रमा एनआरएनए अध्यक्षा शेष घलेले विगतमा एनआरएनए एउटा अभियान जस्तो रहे पनि अहिले यसको भूमिका बदलिएको बताउँदै एनआरएनए राहत, उद्धारदेखि विकास निर्माण कार्यमा नेपाल सरकारसँगै साझेदारी गरेर अघि बढ्न थालेको बताए ।

त्यस्तै संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले सम्मेलन नेपालको आर्थिक समृद्धिका लागि थप लगानी भित्राउन महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे ।

उनले विदेशमा नेपालीहरुको सँख्या बृद्धि हुदै गएको अवस्थामा एकअर्का क्षेत्रीय सम्मेलनले साथीभाइ बीचको भाइचारालाई थप बलियो बनाउनुका साथै देशको लागि केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्ने उल्लेख गरे ।

उद्घाटन सत्रमा एनआरएनए अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, संस्थापक नेता रामप्रताप थापा, संरक्षक दिल गुरुङ र इन्द्र बनसहितले शुभकामना दिएका थिए ।

त्यसैगरि देवकाजी डंगोल, ब्यवसायी चन्द्र ढकाल, संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्य, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, ब्यवसायी बिनोद चौधरी, सांसदहरु मोहन बराल, महेन्द्र यादव, अमेरीकी संसाद डोनाल्ड पएने र अमेरिकी क्षेत्रका संयोजक सोनाम लामा लगायतले सम्मेलनको सफलताको शुभकामना दिएका थिए ।

Leave a Reply