‘एक निर्वाचन क्षेत्र, एक सिञ्चित नमुना गाउँ’

काठमाडौँ, माघ २४- सिँचाइ मन्त्रालयले ‘एक निर्वाचन क्षेत्र, एक सिञ्चित नमुना गाउँ’ को नयाँ कार्यक्रम ल्याएको छ ।

सिँचाइ मन्त्री उमेशकुमार यादवले आज सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो क्षेत्रगत कामलाई सन्तुलित, प्रभावकारी र पारदर्शी बनाउन यही आवदेखि केही नयाँ कार्यक्रम थप गरिएको जानकारी दिनुभयो ।

उहाँले एक निर्वाचन क्षेत्रमा कम्तीमा एक सय स्यालो ट्युवेल निर्माण, नगरपालिका सदरमुकाम क्षेत्रमा सिँचाइ कार्यक्रम, कृषकको पिरमर्का बुझ्न ‘हेलो सिँचाइ मन्त्री’ जस्ता लोकप्रिय कार्यक्रमको पनि थालनी गरिएको बताउनुभयो ।

मन्त्रालयले समृद्ध तराई मधेस सिँचाइ विकास कार्यक्रम, पहाडी तथा उच्च पहाडी टार सिँचाइ कार्यक्रम, राजकुलो संरक्षण तथा व्यवस्थापन कार्यक्रम जस्ता प्रस्तावित कार्यक्रमका लागि अर्थ मन्त्रालयसँग थप रु ५८ करोड बजेट माग गरेको छ । हाल मन्त्रालयको रु २० अरब २२ करोड ५१ लाख वार्षिक बजेट छ ।

मन्त्री यादवले जल उत्पन्न प्रकोप नियन्त्रण विभागलाई नाम परिवर्तन गरी जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग बनाउने प्रक्रिया सुरु भएको, मन्त्रालयको नाम जलस्रोत राख्न प्रधानमन्त्रीसँग प्रस्ताव गरिएको र जल उत्पन्न प्रकोप व्यवस्थापन ऐन ल्याउन काम सुरु भएको पनि जानकारी दिनुभयो ।

उहाँले कृषि मन्त्रालयले ‘पकेट क्षेत्र’ मा सिँचाइको प्रबन्ध गर्ने र सिँचाइ भएका ठाउँमा कृषि उत्पादन बढाउने योजना ल्याउन सम्बन्धित मन्त्रालयबीचको समन्वय बढाइएको पनि बताउनुभयो ।

Leave a Reply