कमसल रक्सीले २६ को ज्यान गयो

जकार्ता,माघ २५ – इन्डोनेसियामा कमसल  रक्सीले २६ जनाको ज्यान गएको  समाचार छ । इन्डोनेसियाको मध्यप्रान्त जाभामा अवैध रुपमा उत्पादित र कमसल खालको रक्सीले ती व्यक्तिको ज्यान लिएको समाचारमा जनाइएको छ ।
जाभाको उत्तरी नगर स्लेमनमा सो रक्सीको उत्पादन गरिएको बताइएको थियो । रक्सीको सेवनबाट ती व्यक्तिको ज्यान गएको अनुसन्धानमा खटेका प्रहरीले जनाएका छन् ।
उनीहरुकाअनुसार रक्सी विषाक्त रहेको र त्यसैले कम्तीमा पनि २६ जनाको ज्यान लिएको पाइएको छ ।
ज्यान जानेमा धेरैजसो विद्यार्थी रहेका छन् । उनीहरु घरमा बनेको रक्सी सेवनका लागि अर्कै नामबाट त्यहाँ गएका थिए । कतिपयले भने किनेर घरैमा ल्याएर खाएका थिए ।
बुधबारसम्ममा सो रक्सीको सेवनबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । त्यसमा परी अरु पनि कैयौँ नागरिक गम्भीर रुपमा विरामी परेका छन् ।
उक्त नगरमा रक्सी निर्माणमा सम्लग्न भएको आशङ्कामा एकजना दम्पतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस रक्सीको सेवनबाट गम्भीर घाइते व्यक्तिको उपचार जारी छ ।
तर त्यसका कारण विरामी परेकाहरुको पहिचान भने खुलाइएको छैन ।
मुस्लिम बाहुल्यता रहेको सो देशमा यसरी नक्कली रक्सीको सेवनबाट ज्यान जाने गरेका कैयौँ घटना रहेका छन् ।
यस्तो रक्सीको सेवनबाट अरु गत वर्ष पनि एक दर्जनभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । त्यसैगरी सन् २००५ मा पनि सोही क्षेत्रमा कम्तीमा पनि २५ जनाको यसरी नै ज्यान गएको थियो ।

Leave a Reply