सभापति कोइरालाको निधनबाट मुलुकलाई अपूरणीय क्षति – उपसभापति पौडेल

नेता पौडेल

काठमाडौँ, माघ २६ – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सभापति सुशील कोइरालाको निधनबाट पार्टीलाई मात्र नभई मुलुकको राजनीति र लोकतान्त्रिक मूल्य मान्यतालाई समेत अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

कोइराला निवास महाराजगन्जमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सभापति कोइराला लोकतान्त्रिक मूल्य मान्यताप्रति आफ्नो दृढ अडान र अविचलित मान्यता राखी पछिल्लो समय मधेस आन्दोलनलाई सहमतिमा रुपान्तरण गर्ने काममा क्रियाशील रहँदै आउनुभएको उल्लेख गर्नुभयो ।

कोइरालाको निधनबाट आफू अत्यन्त दुःखित र मर्माहत भएको जनाउँदै उपसभापति पौडेलले देश, जनता र लोकतन्त्रका लागि उहाँले दिनुभएको योगदान महत्वपूर्ण छ भन्नुभयो ।

“उहाँको सपना पूरा गर्ने दायित्वलाई हामी सबैले मिलेर पूरा गर्नेछौँ । उहाँकै नेतृत्वमा नेपाली काँग्रेस सरकारमा रहँदा सात दशकदेखि नेपाली जनताले संविधानसभाबाट संविधान बनाउने कार्यको नेतृत्वदायी जिम्मेवारी पूरा भएको छ, अब, संविधान कार्यान्वयनतर्फ मुलुक अघि बढेको छ” – उहाँले भन्नुभयो ।

संविधान निर्माणको नेतृत्वकर्ता कोइरालाको सपना साकार पार्ने अठोट गर्दै उपसभापति पौडेलले लोकतन्त्रलाई संस्थागत गर्ने, संविधान कार्यान्वयन गर्ने र समाज रुपान्तरणको जिम्मेवारीलाई सबै मिलेर पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विपत्तिको घडीमा काँग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सबै नेपाली जनताप्रति संयम र धैर्य रही परिस्थितिको सामना गर्न उहाँले आग्रह गर्नुभयो ।

Leave a Reply