सात करोडको लगानीमा रिट्रिट कृषि फार्म सञ्चालन

रत्ननगर (चितवन), माघ २६- जिल्लाको देवनगरमा रु सात करोडको लगानीमा रिट्रिट कृषि फार्म सञ्चालनमा आएको छ ।

लामो समय विदेशमा रहेर काम गरेको अनुभवका आधारमा देवु लोहनीले अर्गानिक खाद्य वस्तु उत्पादन गर्दै कृषि फार्म रिसोर्ट सञ्चालनमा ल्याउनुभएको हो । पर्यटकीय क्षेत्र बीसहजारी ताल र बाटुली ताल नजिकै ११ बिघा क्षेत्रफलमा सो रिसोर्ट सञ्चालनमा आएको हो ।

रिसोर्टमा सुविधासम्पन्न १८ वटा कोठा छन् भने यहाँ दुध, तरकारी आफैँ उत्पादन गरी पर्यटकलाई खुवाइने गरिएको छ । रिसोर्टमा गाउँघरमा लोप भइसकेका र हुन लागेका ढिकी, जाँतो, माना, पाथी, मान्द्रो, गुन्द्रीलगायतका सामग्री देख्न पाइन्छ । करिब ३५ वर्षसम्म भारत, अमेरिका, जर्मनी, तान्जानियालगायत देशमा कामको अनुभव सङ्गालेका लोहनीले नेपालमै केही गरौँ भनेर रिसोर्ट सञ्चालन गरेको बताउनुभयो ।

सूर्योदय र सूर्यास्तको दृष्यावलोकन, गैँडा अवलोकन, मध्यवर्ती क्षेत्रको घुमफिर, वनभोज, पैदलयात्रा आदिको फरक फरक अनुभव रिसोर्टमा बसेर पर्यटकले लिनसक्छन् ।

Leave a Reply