भुटानी शरणार्थी समस्या समाधानमा नेपाली कूटनीति कमजोर भयो – रिजाल

दमक , माघ २६- भुटानी मानवअधिकार आन्दोलनका अगुवा टेकनाथ रिजालले नेपालले भुटानी शरणार्थीको स्वदेश फिर्तीका लागि सही कदम उठाउन नसक्दा शरणार्थी समस्या लम्बिँदै गएको बताउनुभएको छ ।

आज बिहान झापाको दमकमा पत्रकारसँग कुरा गर्दै नेता रिजालले भुटानी शरणार्थीको दिगो समाधानमा नेपाल सरकारको कूटनीति प्रभावकारी हुन नसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो–“शरणागत भुटानी स्वदेश फर्कन पाएनन्, नचाहँदा नचाहँदै विश्वका विभिन्न मुलुकमा छरिनुपरेको छ ।”

नेपालले भारतलाई यो समस्या समाधानमा साथ लिन नसक्दा शरणार्थी समस्या कायम रहेको उहाँको टिप्पणी थियो । उहाँले सरकारले शरणार्थीलाई धमाधम पुनर्वास मात्र प्राथमिकता दिँदा शिविर रित्तिँँदै गएको र स्वदेश फर्कन पाउने अधिकारबाट भुटानी वञ्चित हुनुपरेको गुनासो राख्नुभयो ।

भुटानमा थप हजारौँ नेपालीभाषीलाई खेद्न त्यहाँको सरकारले जालझेल गरिरहेको आरोप लगाउँदै नेता रिजालले भुटानी शरणार्थीका ८० हजार जति नातेदारलाई भुटानी चुनावमा मत खसाल्न नदिएर अर्धनागरिक झैँ बनाइएको उल्लेख गर्नुभयो । विशेषगरी दक्षिण भुटानका चिराङ, दागना, छुका, साम्ड्रपजोंखर, सर्भाङ र साम्ची जिल्लाका नेपालीभाषीलाई भुटानको नेसनल एसेम्ब्लीको निर्वाचनमा मतदान गर्न दिइएको रिजालको भनाइ थियो । उहाँले भन्नुभयो–“वाङचुक वंशको राजसंस्थाले भुटानबाट नेपालीभाषीलाई खेद्ने प्रपञ्च रचिँदै छ ।”

एक प्रसङ्गमा नेता रिजालले भुटानभित्रको प्रजातन्त्र र मानवअधिकार आन्दोलनको स्थितिको स्वतन्त्र अनुगमन नभएको जिकिर गर्नुभयो । आज बिहानै उहाँले दमकस्थित संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगको उपशाखा कार्यालयका प्रमुख सिन्जी कुवोसँग भेटी शरणार्थीलाई पहिचान र सहायताबिना राख्न नहुने बताउँदै पुनर्वासमा गएका र जाने भुटानी शरणार्थीका परिवार नफुटाउन आग्रह गर्नुभयो ।

Leave a Reply