भारतीय राष्ट्रपतिद्वारा शोक

काठमाडौँ, माघ २६- भारतका राष्ट्रपति प्रणव मुखर्जीले पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको दुःखद् निधनबाट आफू मर्माहत भएको बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शोक सन्देश पठाएर राष्ट्रपति मुखर्जीले राजनीतिक सङ्क्रमण र संविधान जारी गर्ने समयमा नेता कोइरालाले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाको सराहना गर्नुभएको छ ।

नेता कोइरालाको सादा जीवनबाट हामीले पाठ सिक्नुपर्ने बताउँदै सन्देशमा भारतीय राष्ट्रपतिले बहुआयामिक भारत–नेपाल सम्बन्धलाई सुमधुर तुल्याउन उहाँले अथक प्रयास गर्नुभएको उल्लेख गर्नुभएको छ ।

नेता कोइरालाको प्रधानमन्त्रीत्वकालमा जलविद्युत् तथा भौतिक सम्पर्क स्थापनामा उल्लिखित प्रगति भएको स्मरण पनि भारतीय राष्ट्रपतिले सन्देशमा स्मरण गर्नुभएको छ ।

“नेता कोइरालाको निधनप्रति भारतका जनता दुःख र वेदना प्रकट गर्छन्” भन्दै उहाँले राष्ट्रपति भण्डारीलाई कोइराला परिवारमा गहिरो सहानुभूति प्रकट गर्न अनुरोध गर्नुभएको छ ।

Leave a Reply