उत्तर कोरियाविरुद्ध लगाउने नयाँ नाकाबन्दीबारे छलफल

सोल,  माघ २६- दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाइले उत्तर कोरियाका विरुद्धमा लगाउने नयाँ नाकाबन्दीका बारेमा परामर्श सुरु गर्नुभएको समाचार छ ।

उहाँले मङ्गलबार यस विषयमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र जापानी प्रधानमन्त्री सिन्जो अबेसँग फोनवार्ता गर्नुभएको हो ।

उहाँले उत्तर कोरियाले हालै गरेको रकेट प्रक्षेपणका कारण उसमाथि लगाउनुपर्ने नाकाबन्दीका बारेमा परामर्श गर्नुृभएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

उत्तर कोरियाले गत आइतबार सो रकेट प्रक्षेपण गरेपछि आगामी दिनमा उसमाथि नाकाबन्दी लगाउनुपर्ने धारणा दक्षिण कोरियाले राख्दै आएको छ ।

फोनवार्ताका क्रममा राष्ट्रपति हाईले यस प्रक्षेपणले क्षेत्रीय शान्ति खल्बल्याउने भएको भन्दै यसका कारण राष्ट्रसङ्घको शान्ति सम्झौताको पनि उल्लङ्घन भएको आफ्नो धारणा अमेरिकासँग राख्नुभएको थियो ।

सो फोनवार्तापछि उत्तर कोरियामाथि गर्नुपर्ने कारबाहीका लागि अबका केही दिनमा नै तीन देशका तर्फबाट साझा प्रस्ताव अघि सारिने धारणा राष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्री अबेसँग राख्नुभएको समाचारमा जनाइएको छ ।

यसअघि पनि मङ्गलबारै सो विषयमा राष्ट्रपति ओबामा र प्रधानमन्त्री अबेबीच फोनवार्ता भएको थियो । वार्ताका क्रममा सो विषयमा सहमति भएको बताइएको छ ।

उत्तर कोरियाले गरेको रकेट प्रक्षेपणका कारण संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को शान्ति तथा निशस्त्रीकरणसम्बन्धी सम्झौताको उल्लङ्घन भएकोले उत्तर कोरियाका विरुद्धमा कारबाही हुनु आवश्यक रहेको उहाँहरुको भनाई छ ।

उत्तर कोरियाले यस पटकमात्र नभएर बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्ने गरेको र यसले अन्तर्राष्ट्रिय शान्ति तथा मैत्रीसन्धि सम्झौताहरुको पनि उल्लङ्घन गरेकोले यस पटक उक्त देशमाथि कारबाही हुनुपर्ने माग गरिएको हो ।

उत्तर कोरियाले गएको आइतबार लामो दूरीसम्मको एक शक्तिशाली रकेट प्रक्षेपण गरेको थियो । त्यस घटनाको विश्वव्यापी रुपमा विरोेध जारी रहेको छ ।

Leave a Reply