सोनाम लोेसार – सांस्कृतिक कार्यक्रम

काठमाडौँ, माघ २६- तामाङ समुदायको सोनाम लोेसार २८५२ को अवसरमा नेपाल तामाङ घेदुङको आयोजनामा आज टुँडिखेलमा बृहत् प्रवचन तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।

तामाङ समुदायको बाहुल्यता भएको जिल्लासहित अमेरिका, जापान, कोरिया तथा युरोपसहित विश्वका विभिन्न २० भन्दा बढी मुलुकमा लोसार मनाइने गरिन्छ । लोसारको अर्थ नयाँ वर्ष हो ।

भेँडा वर्षको अन्त्य भई आजदेखि बाँदर वर्ष सुरु भएको छ । महामन्जुश्री पृथ्वीमा पदार्पण भई जन्म लिएको सम्झनामा महायान बौद्ध धर्मावलम्बीले बर्सेनि यो पर्व मनाउँदै आएका छन् ।

कार्यक्रममा बौद्धधर्म गुरु रिम्पो सोनाम गुली तामाङले हजारौँ वर्षदेखि मौलिक मान्यता बोकी स्वदेश तथा विदेशमा तामाङ समुदायले लोेसार मनाउँदै आएको बताउनुभयो ।

उहाँले महामन्जुश्रीको संसारमा आगमन भएको दिनको सम्झनामा यो पर्व मनाउँदै आएको जानकारी दिँदै महामन्जुश्रीले संसारका लागि ८४ हजार धर्मदेशना गर्नुभएको ग्रन्थमा उल्लेख भएको जानकारी दिनुभयो ।

नेपाल तामाङ सङ्घका अध्यक्ष कविरबहादुर तामाङले व्यक्तिको आस्था फरकफरक भए पनि तामाङको मुद्दामा सबै तामाङ एक हुनुपर्ने बताउनुभयो ।

ताम्सालिङ सङ्घर्ष समितिका अध्यक्ष जयप्रसाद गोलेले नेपाली जनताले सङ्घीयता, संविधान तथा गणतन्त्र प्राप्त गरिसकेको भए पनि अझै तामाङ जातिले पाउनुपर्ने पहिचानजस्ता थुपै्र अधिकारबाट वञ्चित भएको चर्चा गर्दै हाल पनि थुप्रै तामाङ दाजुभाइ घाइते तथा अपाङ्ग भई बस्नुपरेको र कयौँ दाजुभाइ जेलमा सडिरहेको जानकारी दिनुभयो ।

नेपाल तामाङ सांस्कृतिक महासङ्घका अध्यक्ष हीरा गोले लामाले सयौँ वर्षदेखि राज्यबाट थिचोमिचोको अवस्थामा रहेकाले लोसार पर्व सार्वजनिकरुपमा मनाउन नपाए पनि तामाङले हजाराँै वर्षदेखि यो पर्वको संरक्षण गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले २०४६ मा प्रजातन्त्र बहालीपछि तामाङ समुदायले सार्वजनिकरुपमा देशव्यापी कार्यक्रम गरी लोछार पर्व मनाउने गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा तामाङ सर्जक मोहन घिसिङको तामाङ गीतको सङ्गालो सिडी तथा डिभिडीको विमोचन गर्नुका साथै सरकारको उच्च पदमा पुगेका तामाङ काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङ र विशिष्ट श्रेणीमा पुग्न सफल जीवन प्रभा तामाङलाई सम्मान गरिएको थियो ।

विभिन्न १०५ वटा सङ्घसंस्था सम्मिलित सो सङ्घको अगुवाइमा सोमबारदेखि सुरु भएको लोछार पर्व बुधबार सम्पन्न हुने कार्यक्रम छ ।

Leave a Reply