नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा– अर्थमन्त्री पौडेल

काठमाडौँ, २६ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास व्यक्त गर्नुभएको छ ।

तीनदिने भारत भ्रमणपछि आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय समाचार समिति (रासस) सँग कुरा गर्दै उहाँले पछिल्लो दिनमा दुई मुलुकबीच उत्पन्न भएका असमझदारी समेत हटाउन आफ्नो भ्रमण सफल भएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लाग्नु भएको भारत भ्रमणलाई सफल बनाउने विषयमा भारतीय नेताहरुसँग छलफल भएको तथा भ्रमणलाई सफल एवम् सुनिश्चित गर्ने विषय नै महत्वपूर्ण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले भन्नुभयो, “दुई मुलुकबीचको सम्बन्ध हार्दिक र मैत्रीपूर्ण बनाउन भ्रमण सफल भएको छ । सम्बन्ध जीवन्त भएको छ ।” तर उहाँले प्रधानमन्त्रीको भ्रमणको मिति भने दुई देशका सम्बद्ध अधिकारी बसेर टुङ्गो लगाइने जानकारी दिनुभयो ।

उहाँले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल बनाउने, दुई देशको मैत्री सम्बन्धलाई थप मजबुत बनाउन आफ्नो भ्रमणले थप मार्गप्रशस्त गरेको उहाँको कथन थियो ।

नेपालमा संविधान जारी भएको भन्दै आफूले भारतीय पक्षसँग विकासको उज्यालोमा प्रवेश गरेको मुलुकलाई थप सहयोग र सद्भावको जरुरत रहेको विषयमा ध्यानाकर्षण गराएको उल्लेख गर्नुभयो । भ्रमणका क्रममा अर्थमन्त्री पौडेलले भारतीय गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज र अर्थमन्त्री अरुण जेटेलीसँग भेटवार्ता गरी आपसी हित र चासोका विषयमा छलफल गर्नुभएको थियो ।

भ्रमणका क्रममा भारतीय पक्षले भूकम्पपछिको पुनःनिर्माणको योजनामा नेपाल अघि बढेकाले आवश्यक आर्थिक स्रोत एवम् सहयोग गर्न भारत तयार रहेको बताउनुभएको थियो ।

भारतीय अर्थमन्त्रीले भारत सरकारले उपलब्ध गराउने वचन दिएको ऋण सहायता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा गरिएको सहयोग राशि एवम् भूकम्पछि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा व्यक्त प्रतिबद्धतानुसार अगाडि बढ्न तयार रहेको जनाउनुभएको थियो ।

नेपालको आवश्यकता र प्राथमिकतानुसार भौतिक पूर्वाधारका क्षेत्रमा सहायता उपलब्ध गराउनसमेत भारत सरकार तयार छ भन्दै अर्थमन्त्री पौडेलसँगको भेटमा उहाँका समकक्षी जेट्लीले दुई देशबीचको सम्बन्ध नयाँ आधारमा अगाडि बढ्ने विश्वाससमेत व्यक्त गर्नुभएको थियो ।

आइतबार त्यसतर्फ जानुभएका अर्थमन्त्री पौडेलले दुई मुलुकको समान चासो एवम् आपसी हितमा विषयमा भारतीय पक्षसँग गहन छलफल गरेको र भ्रमण फलदायी भएको जानकारी दिनुभयो ।

यस्तै अर्थ सचिव लोकदर्शन रेग्मी र परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत पनि आजै स्वदेश फर्कनु भएको छ ।

Leave a Reply