अतिक्रमित वन क्षेत्रको तथ्याङ्क सङ्कलन गरिँदै

चितवन, माघ २७-  जिल्ला वन कार्यालय चितवनले आफ्नो कार्यक्षेत्रभित्र वन क्षेत्रमा भएको अतिक्रमणको पछिल्लो तथ्याङ्क सङ्कलन थालेको छ ।

चितवनमा पुरानो तथ्याङ्कअनुसार एक हजार ३०० हेक्टर वनक्षेत्र अतिक्रमण भएको छ । जिल्लाको कुल क्षेत्रफल दुई लाख १८ हजार हेक्टरमध्ये एक लाख २८ हजार ५०० हेक्टर वन क्षेत्र छ । जसमध्ये निकुञ्जले ८३ हजार ५०० हेक्टर र वनले ४५ हजार हेक्टर क्षेत्रफल हेर्दै आएका छन् । यो तथ्याङ्कलाई हेर्दा जिल्लाको कुल वनक्षेत्र ५९ प्रतिशत छ ।

जिल्ला वन कार्यालय चितवनका प्रमुख गणेश रायकाअनुसार पछिल्लो पटक अतिक्रमण भएको क्षेत्रको जिपिएस प्रयोग गरेर तथ्याङ्क सङ्कलन थालिएको छ । कस्तो प्रकारको अतिक्रमण छ तथ्याङ्कसहित एक महिनाभित्रमा प्रतिवेदन आउने प्रमुख रायले बताउनुभयो ।

उहाँका अनुसार प्रतिवेदन आएपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्यदलमा छलफल गरिनेछ । त्यसको निष्कर्षअनुसार नै अतिक्रमण हटाउने प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनुभयो ।

प्रमुख रायका अनुसार राष्ट्रिय दृष्टिकोणले महत्वपूर्ण वन्यजन्तुको बासस्थान बनेको क्षेत्र पनि अतिक्रमणमा रहेको छ । निजी व्यापारिक नाफामूलक संस्थाका साथै धार्मिक, सांस्कृतिक, मठमन्दिर, सामुदायिक भवन, क्याम्पस, चिहानजस्ता कामका लागि पनि अतिक्रमण भएको उहाँले बताउनुभयो ।

त्यसैगरी प्रहरी चौकी, सेनाको ब्यारेक, जनमुक्ति सेनाको शिविर, प्राथमिक स्वास्थ्य चौकी, सडक, नहर, विद्युत्लगायतका लागि पनि चितवनमा वन क्षेत्र अतिक्रमण भएको छ । विगतको तुलनामा अतिक्रमित क्षेत्र बढ्नसक्ने अनुमान गरिएको छ ।

जिल्लामा मुख्यरुपमा बाढीबाट प्रभावितलाई वन क्षेत्रमा राखिएको पाइएको प्रमुख रायले बताउनुभयो । नारायणी र राप्ती नदीले कटान गरेका कारण विस्थापित भएकालाई जिल्लाका विभिन्न वन क्षेत्रमा राखिएको छ ।

संसदको वातावरण समितिले वन अतिक्रमण नियन्त्रण रणनीति २०६८ अनुसार अतिक्रमित क्षेत्रको नियन्त्रणका लागि पहल थालेसँगै देशव्यापी रुपमा त्यस्ता क्षेत्रको तथ्याङ्क सङ्कलनलाई जोड दिइएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार ४० प्रतिशत वन क्षेत्र हुनुपर्ने प्रावधान छ । प्रमुख रायले नेपालको संविधानमै यो मापदण्ड कार्यान्वयन गर्ने उल्लेख भए पनि हाल नेपालमा कागजी रुपमा ३९ दशमलब ६ प्रतिशत मात्र वन क्षेत्र रहेकाले अतिक्रमण हटाएर वन क्षेत्रको विस्तार अहिलेको चुनौती रहेको बताउनुभयो ।

Leave a Reply