सञ्चार माध्यममा स्व कोइराला

कोइरालाको पार्थिव शरीर

काठमाडौँ,  माघ २७- पूर्व प्रधानमन्त्री स्व सुशील कोइरालाको निधनका समाचारलाई स्वदेशी तथा विदेशी सञ्चार माध्यमले विभिन्न कोण(एङ्गल)बाट प्रस्तुत गरेका छन् ।

स्व कोइरालाले मुलुकको राजनीति र प्रजातन्त्रका लागि गरेका योगदानका विषयलाई लिएर विश्वका चर्कित सञ्चार माध्ययममा फरक–फरक तवरबाट व्याख्या तथा विश्लेषण भएको छ ।

विश्वभर ठूलो सञ्जाल भएको बेलायती सञ्चार माध्यम बिबिसी अनलाइनले सबैभन्दा शक्तिशाली राजनीतिक परिवारका व्यक्ति तथा ‘विवादास्पद’ नयाँ संविधानका रचनाकारको रुपमा व्याख्या गरेको गरेको छ ।

नेपालबाट प्रकाशित सबै दैनिक तथा अन्य पत्रपत्रिकाले स्व कोइरालाका समाचारलाई विशेष महत्व दिएका छन् । त्यसैगरी अनलाइन मिडियाले त निरन्तररुपमा स्व कोइरालाका विविध पक्षहरुलाई पछ्याइरहेका छन् ।

त्यसैगरी विद्युतीय सञ्चारमाध्यम रेडियो तथा टेलिभिजनले पनि उहाँको निधन र त्यसपछिका समाचारलाई निरन्तरुपमा प्रसारण गरेका छन् । विभिन्न कोणबाट प्रस्तुत भएका समाचारले कोइरालाको योगदान बुझ्न आम जनतालाई सहज भएको छ ।

कोइरालाको निधनको समाचार भने ठूला सञ्चार माध्यमहरु नै पछाडि परेको टिप्पणी भएको छ । विपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री एवम् सबैभन्दा ठूलो पार्टीका प्रमुख नेता सञ्चार माध्यमको निगरानीमा हुनुपर्ने थियो त्यसो हुन नसकेको वरिष्ठ पत्रकार ध्रवहरि अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “निरन्तर चिकित्सकको निगरानीमा रहेका मुख्य नेताप्रति सञ्चार माध्यम बेखबर रहन हुन्नथ्यो ।”

त्यसो त २०५८ जेठ १९ गतेको दरबार हत्याकण्डका समयमा पनि देशका मुख्य सञ्चार माध्यमले समाचार दिन सकेका थिएनन् । तर पनि त्यो समयमा केही दैनिकले हत्याकाण्डको सङ्केतिक समाचार प्रकाशन गरेका थिए ।

त्यो समय र यो समयमा सञ्चार प्रविधिले ठूलो फड्को मारिसकेको छ । अन्त्यन्त छोटो समयमा नै प्रकाशन गर्न सक्ने क्षमताको विकास भइसकेको छ । तर पनि सञ्चार माध्यमको ध्यान नपुग्दा मङ्गलबार प्रकाशित हुने दैनिक प्रकाशन पछि परेका छन् ।

पूर्वप्रधानमन्त्री एवम् काँग्रेस सभापति जस्ता देशको मुख्य नेताका विषयमा निरन्तर ‘प्रेस ब्रिफिङ्’ हुनुपर्नेमा त्यसो हुन नसकेको त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता विभागका प्रमुख प्राध्यापक चिरञ्जीवि खनालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सञ्चार माध्यमको प्रकृतिअनुसार समय सीमा (डेड लाइन) फरक पर्छ । दैनिक पत्रिकका आ–आफ्नै समय सीमा हुन्छन्, अनलाइन, रेडियो र टेलिभिजनको भने चौबीसै घन्टा हुने गर्छ । त्यसले गर्दा पनि मङ्गलबारको अङ्कमा समाचार नआएको हो ।”

स्व कोइरालाको समाचारको विषयमा नेपालको सबैभन्दा पुरानो दैनिक पत्रिका गोरखापत्रले ‘स्टप दि प्रेस’को अभ्यास गर्नु सकारात्मक भएको पत्रकार अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, “गोरखापत्रले कोइरालाको आज राजकीय अन्त्येष्टि शीर्षकमा समाचार देख्न पायो किनकी अघिल्लो अङ्कमा नै उसले मृत्यु भएको समाचार लेखिसकेको थियो ।”

गोरखापत्रले मङ्गलबार बजारमा जानुअघि नै अर्को संस्करण प्रकाशन गरेर ढिलै भएपनि कोइरालाको निधनको समाचार र तस्बिर राखेको थियो । अन्य दैनिकहरुमा मङ्गलबारको अङ्कमा कोइरालाको मृत्युको खबर नआएपनि बुधबार भने सबैजसोले विशेष प्राथमिकताका साथ प्रकाशित गरेका छन् । समाचार, लेख, राष्ट्रपतिदेखि उच्च व्यक्तिको समवेदना र सम्पादकीय एकै अङ्कमा प्रकाशन भएका छन् ।

कान्तिपुर दैनिकले ‘बिदा भए कोइराला’ शीर्षकमा समाचार प्रकाशन गरेको छ भने ‘कोइरालाको शान्त प्रस्थान’ शीर्षकमा सम्पादकीय लेखेको छ । त्यसैगरी ‘कांँग्रेसका बन, व्यक्तिको पछाडि नलाग’, स्वच्छ छविका नेता र कोइरालाका नखुलेका पाटाजस्ता शीर्षकमा लेख प्रकाशित भएको छ ।

त्यसैगरी नागरिकले ‘अथक योद्धाको अवसान’ शीर्षक मुख्य समाचार छापेको छ भने ‘सुशीलको शान्त महाप्रस्थान’ सम्पादकीय र मृत्युपर्यन्त जीवन शीर्षकमा प्रतीक प्रधानको मुख्य लेख प्रकाशित गरिएको छ ।

सञ्चार माध्यमले विशेष अवस्थामा मुख्य भूमिका निर्वाह गर्न नसकेको पाठक, दर्शक र स्रोताको गुनासो स्वभाविक हो । तर सूचना प्रवाह गर्ने सन्दर्भमा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले बताउनुभयो । उहाँले भन्नुभयो,“सञ्चार माध्यमले सधैँ समयमै समाचार दिन प्रयत्न गर्छन्, सञ्चार माध्यम महत्वपूर्ण विषयमा चनाखो हुनुपर्ने हो र सचिवालयले पनि निरन्तर जनतालाई जानकारी दिनुपर्ने हो । यी सबैको संयोजन मिल्न सकेन ।”

सबै सञ्चार माध्यमले महत्वपूर्ण व्यक्तिलाई निरगानी गर्ने र सूचना प्रवाहको प्रणालीलाई थप प्रभावकारी बनाउनेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने हुन्छ ।

Leave a Reply