नेपाल सोझै विश्वकपमा छनोट हुन असफल

काठमाडौँ, माघ २८- उन्नाइस वर्षमुनि (यु–१९) उमेर समूहको विश्वकप क्रिकेट प्रतियोगिताको ‘प्ले अप’मा नेपाल आज नामिबियासँग १५ रनले पराजित भएको छ । पराजयसँगै नेपाल सन् २०१८ मा हुने यु–१९ विश्वकपका लागि सोझै छनोट हुन असफल भएको छ ।

बङ्गलादेशको फतुल्लाहमा सातौँ स्थानका लागि भएको खेलमा टस जितेर व्याटिङ गरेको नामिबियाले ४५ ओभरमा नौ विकेट गुमाउँदै २२५ रन बनायो । जवाफी व्याटिङमा उत्रेको नेपालले ४४.२ ओभरमा सवै विकेट गुमाउँदै २१० रन मात्र बनायो । नेपालका लागि ओपनर सुनिल धमलाले अर्धशतक बनाए । उनले ८४ बल खेल्दै ५९ रन जोडे । त्यस्तै, योगेन्द्र कार्कीले ३५, प्रेम तामाङले ३२, दीपेन्द्र ऐरीले ३१ र आरिफ शेखले ३० रन बनाए ।

नामिवियाका मिचेल भान लिङ्गेनले ४, फ्रिट्ज कोइट्जीले ३ तथा बुर्टन जाकोब्स्ले २ विकेट लिएपछि नेपाल लक्ष्यमा पुग्न सकेन । यसअघि नामिवियाका लागि लोहान लरेन्स्ले सर्वाधिक ५९ रन वनाएका थिए । यस्तै लिङ्गेनले ५८ तथा फ्रान्कोइस राउटेनवाचले ३९ रन जोडे । नामिबियालाई मध्यम स्कोरमा समेट्न नेपालका सन्दीप लामिछानेले तीन, सुशील कँडेलले दुई तथा सुनिल धमला र प्रेम तामाङले एक एक विकेट लिए ।

आजको खेलमा नेपालले विजय हासिल गरेको भए सातौँ स्थानमा रहँदै सन् २०१८ मा हुने यु–१९ विश्वकपका लागि सोझै छनोट हुने थियो ।

Leave a Reply