नक्कली सवारी चालक अनुमतिपत्र बनाउने पक्राउ

ड्युटीमा

काठमाडौँ,माघ २८ – बुधबार प्रहरीले  नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न तीन अभियुक्तलाई  पक्राउ गरेको छ ।

धादिङ गजुरी घर भई काठमाडौँ गँगबु बस्ने राम लामा, स्थानीय जोरपाटी बस्ने श्रीकृष्ण डङ्गोल र ललितपुर एकान्तकुना बस्ने सोलुखुम्बु तिङ्लाघर भएका याङ्बा शेर्पालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको प्रहरी टोलीले पक्राउ गरेको हो ।

गँगबु क्षेत्रमा नक्कली सवारी चालक अनुमतिपत्र बनाउने गिरोह रहेको सूचनाका आधारमा प्रहरी टोलीले लामाको डेरा तलासी गर्दा तयारी हालतमा बनाइराखिएको नक्कली अनुमतिपत्र आठ थान, मोबाइल टेलिफोन दुई थान र लामाका नाममा जारी भएको चालक अनुमतिपत्र एक थान बरामद भएको थियो ।

लामासँग सोधपुछ एवम् अनुसन्धान गर्दा उक्त गिरोहमा संलग्न डङ्गोललाई एकान्तकुनाबाट विभिन्न व्यक्तिका नामको म्याद सकिएको सवारी चालक अनुमतिपत्र १००, तयारी सवारी चालक अनुमतिपत्र ५१, खाली सवारी चालक अनुमतिपत्र चार, रङ्गिन प्रिन्टर र ल्यापटप एक एक थान, यातायात व्यवस्थापन कार्यालय वाग्मतीको छाप पाँच थान, स्टिकर ११ थान र मोबाइल दुई थान सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै शेर्पालाई सवारी चालक अनुमतिपत्रको फाराम चार थान, विभिन्न व्यक्तिको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र १४, विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि ३४ , सक्कल नागरिकता तीन, छापिएको सवारी चालक अनुमतिपत्र १६ थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply