राससमा सञ्चार सचिवको निरीक्षण: समाचार बैङ्कका रूपमा विकसित गर्न सुझाव

काठमाडौँ,माघ २९- सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले राष्ट्रिय समाचार समिति (रासस) को संरचनालाई सङ्घीयताअनुकूल बनाउँदै यसलाई समाचार बैङ्कका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

आज भद्रकालीस्थित राससको केन्द्रीय कार्यालयको निरीक्षणपछि सचिव थपलियाले सरकारी स्वामित्वका सञ्चार माध्यम र नेपाल सरकारका विभिन्न निकायका प्रवक्ता, सहप्रवक्ता तथा सूचना अधिकारीबीचको समन्वय र अन्य सुधारका काममा सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले रासससम्बन्धी विद्यमान ऐन र नियमलाई आवश्यकतानुसार संशोधन, यसका भवन पुनःनिर्माण र भौतिक सम्पत्तिको व्यावसायिक प्रयोगमा सरकारबाट सक्दो सहयोग हुने भन्दै त्यसका लागि पुष्ट्याइसहितको कार्ययोजना ल्याउन रासस व्यवस्थापनलाई सुझाव दिनुभयो ।

सचिव थपलियाले नयाँ संविधानले प्रत्याभूत गरेको सूचनाको हकलाई सुनिश्चित गर्न र समाचार सम्प्रेषणको जिम्मेवारी पूरा गर्न नयाँ ढाँचामा काम गर्न निर्देशन दिँदै भन्नुभयो, ‘‘थोरै लगानीबाट जनतालाई धेरै प्रतिफल र सेवा दिने ढङ्गबाट जानुपर्छ । त्यसका लागि नीतिगत र सङ्गठनात्मक ढाँचामा नयाँ रुप दिनुपर्छ ।’’

राससका समाचारमा विचार नभई समाचार हुने भएको र यो संस्था लामो राजनीतिक परिवर्तनको इतिहासको साक्षी रहेको बताउँदै उहाँले भन्नुभयो – यसको आवश्यकता र औचित्य छ भन्नेमा समस्या होइन तर यसले आफूलाई विगतको जस्तो एक्लो महसुुस नगरी प्रतिस्पर्धी बनाउन आवश्यक छ ।

राससका अध्यक्ष कुलचन्द्र वाग्लेले आफ्नो प्रत्यक्ष सञ्चार माध्यम नभए पनि समाचार सम्प्रेषणमा सूत्रधारका रुपमा सक्रिय राससलाई सचिव थपलियाबाट प्राप्त अभिभावकीय निर्देशनप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले संस्थामा कार्यरत कर्मचारीहरुमा राससप्रतिको आस्था र समर्पण प्रशंसायोग्य रहेको पनि बताउनुभयो ।

निमित्त महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले राससलाई सूचना केन्द्र, पत्रकारको क्षमता वृद्धि र तथ्याङ्क सङ्कलकको भूमिकामा समेत विकसित गर्न सकिने बताउनुभयो ।

प्रधानसम्पादक राजु शाक्यले राससले जनसरोकारका समाचार सम्प्रेषणमा आफूलाई निरन्तर क्रियाशील बनाउँदै आएको सन्दर्भ उल्लेख गर्दै सरकारको माथिल्लो निकायबाट पनि यसको समाचारको पहुँच पचहत्तर वटै जिल्लामा पु¥याउने प्रयासमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रशासन प्रमुख सोमनाथ लामिछानेले सरकारको दुई वर्षे सुधार कार्यक्रममा परेका ‘राससमा डिजिटल अर्काइभ व्यवस्था, श्रब्यदृश्य सेवा विस्तार र यसका जग्गाको प्रयोग’ बारे भएका कामको प्रगतिबारे जानकारी दिनुभयो ।

सचिव थपलियालाई नयाँ सञ्चार नीतिमा राससको विषय समावेश गर्न, यसमा स्रोतसाधन बढाउन, समाचार चोरी नियन्त्रण वा लगानी बढाई देशभर सहज पहुँच विस्तार गर्न, सङ्गठन संरचना र कार्यशैली सुधार्न कर्मचारीले सुझाव दिएका थिए ।
यसरी सुझाव दिनेमा नेपाल पत्रकार महासङ्घ, रासस शाखाका अध्यक्ष विष्णु नेपाल, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, प्रेस चौतारी रासस शाखाका अध्यक्ष कालिका खड्का, वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमाल, कार्यकारी व्यवस्थापक उत्तम सिलवाल, समाचारदाता नारायण न्यौपाने, राजाराम कार्की, मदन गौतम, प्रकाश सिलवाल, सहायक खिलप्रसाद दाहाललगायत हुनुहुन्थ्यो ।

Leave a Reply