राजस्व सङ्कलन सात प्रतिशतले वृद्धि

काठमाडौँ, माघ २९- चालु आर्थिक वर्षको छ महिनाको अवधिमा काठमाडौँ महानगरपालिकाको राजस्व सङ्कलन ६ दशमदव ५२ प्रतिशतले वृद्धि भएको छ ।

महानगरपालिकाले यस आवको छ महिनामा रु एक अर्ब चार करोड १३ लाख राजस्व सङ्कलन गरेको छ । गत आवको सो अवधिमा रु ९७ करोड ८६ लाख २९ हजार राजस्व सङ्कलन गरिएको थियो । यसवर्ष सबैभन्दा बढी रु ३० करोड ५३ लाख १५ हजार आन्तरिक राजस्वतर्फ तथा सबैभन्दा कम घरजग्गाबाट रु ३४ लाख ९० हजार सङ्कलन भएको महानगरपालिका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।

महानगरपालिकामा हाल करदाता सङ्ख्या एक लाख ५८ हजार ७६ जना रहेको विभागले जनाएको छ । करदातामध्ये सबैभन्दा बढी घरजग्गातर्फ ५५ हजार ७१२, बहाल करतर्फ ४५ हजार ४४६, मालपोत करतर्फ ३८ हजार ३४६ र व्यवसाय करतर्फ १८ हजार ५७३ रहेका छन् ।

Leave a Reply