सार्क मन्त्रीस्तरीय बैठक पोखरामा

हिन्दूराष्ट्र

पोखरा, माघ २९ – दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)को मन्त्रीस्तरीय बैठक यहाँ आयोजना गर्नेबारे उपप्रधान एवम्. परराष्ट्रमन्त्री कमल थापाले आज पोखरामा प्रशासनिक एवम् सुरक्षा निकायसँग छलफल गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको सभाकक्षमा भएको छलफलमा क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला, पश्चिामाञ्चल क्षेत्रस्तरीय सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, स्थानीय विकास अधिकारी रामचन्द्र तिवारी, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भलकराम अधिकारीसँग छलफल गर्नुभएको हो ।

उक्त अवसरमा उपप्रधानमन्त्री थापाले सार्क मन्त्रीस्तरीय बैठकका लागि प्रभावकारी आवास व्यवस्थापन, सरसफाइ एवम् सुरक्षा व्यवस्थाबारे जानकारी लिएर पूर्वाधारका लागि निर्देशन दिनुभयो ।

उहाँले पोखरा पर्यटकीय केन्द्र भएका कारण सार्क मन्त्रीस्तरीय बैठकलाई चाहिने पूर्वाधार पूरा गर्न पोखरा सफल रहने विश्वास व्यक्त गर्नुभभयो ।

उपप्रधानमन्त्री थापाले आजै पोखरास्थित फिस्टेल लज, होटेल पोखरा ग्रान्ड, साङ्ग्रीला भिलेज रिसोर्ट र फूलबारी रिसोर्टको पनि अवलोकन गरी त्यहाँ हुनसक्ने आवास व्यवस्थापनबारे छलफल गर्नुभएको थियो ।

Leave a Reply