आयोगको समलिङ्गी विवाहलाई मान्यता दिन सिफारिस

समलिंगी

सुरुङ्गा (झापा),  फागुन ३- राष्ट्रिय मानवअधिकार आयोगको  समलिङ्गी विवाहलाई  मान्यता दिन सिफारिस गरेपछि पूर्वमा रहेका समलिङ्गीहरुमा खुसियाली छाएको छ ।

सिफारिस को बिषयमा नील हिरा समाज खुसी

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका लागि काम गर्दै आएको नील हिरा समाज दमककी कार्यक्रम प्रमुख चञ्चला सुब्बाले ढिलै भए पनि आफूहरुको मुद्दाको विषयमा आयोगले सरकारलाई सिफारिस गर्नु सुखद र आफूहरुका लागि खुसीको खबर हो भन्नुभयो । उहाँले आफूजस्ता जोडीले चाँडै कानुनी हैसियत पाउने हुँदा आयोगको सिफारिस स्वागतयोग्य छ भन्नुभयो ।

नयाँ संविधान जारी भएपछि आफूहरुले हक अधिकार पाएमा योभन्दा खुसीको क्षण अरु नहुने उहाँको भनाइ छ । पूर्वमा करिब ३०० जोडी सम्बन्ध लुकाएर बस्न बाध्य भएको समेत उहाँले राससलाई बताउनुभयो । उहाँका अनुसार झापामा मात्रै त्यस्ता जोडी १०० भन्दा बढी छन् । आयोगको यो सिफारिसबाट उनीहरुमा खुसियाली छाएको मैले पाएको छु सुब्बाले भन्नुभयो ।

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (समलिङ्गी तेस्रोलिङ्गी)को विषयमा २०६४ पुस ६ गते सर्वोच्च अदालतले दिएको आदेशपछि समलिङ्गी र तेस्रोलिङ्गीलाई लिङ्गको महलमा अन्य उल्लेख गरेर नागरिकता दिनसमेत सुरु गरिएको छ । नील हिरा समाजका अनुसार अहिलेसम्म नेपालका १२ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले मात्रै नागरिकता लिएका छन् ।

समलिङ्गी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्र वा बाहिर कानुनतः सेक्स वा आफूखुसी विवाह गर्न पाउने कानुन नेपालमा नरहेको उहाँको भनाइ छ । नेपालको कानुन र समाजले समलिङ्गी सेक्सलाई अप्राकृतिक नभने पनि यसलाई सहज स्वीकार गरेको अवस्थामा आयोगको यो सिफारिस आफूहरुका लागि न्याय दिलाउनेखालको छ उहाँले भन्नुभयो ।

Leave a Reply