नयाँ संविधान नेपालको संवैधानिक इतिहासमा अद्भूत सुरुवात – प्रधानमन्त्री

काठमाडौँ, फागुन ३- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट हालै जारी भएको नेपालको संविधान मुलुकको राजनीतिक र संवैधानिक इतिहासमा अद्भूत सुरुवात भएको बताउनुभएको छ ।

एसियाली राजनीतिक पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) ले आज यहाँ आयोजना गरेको ‘नेपालमा प्रजातान्त्रिक सङ्क्रमण’ विषयक विशेष कार्यशालामा उहाँले नेपालको संविधान पूर्ण समावेशी भएको र यसमा महत्वपूर्ण मौलिक हकहरुको व्यवस्था गरिएको बताउनुभयो ।

विभिन्न व्यवधान रहँदारहँदै पनि संविधानसभाबाट संविधान जारी गर्न नेपालका प्रमुख राजनीतिक शक्ति सफल भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनमा पनि सबै दल एक ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल जटिल सङ्क्रमणबाट गुज्रँदै संविधानसभाबाट संविधान जारी गर्न सफल भएको र यो सफलताले सुन्दर राजनीतिक भविष्यको किरण देखाएको बताउनुभयो ।

नेपालको इतिहासमा नयाँ संविधान नयाँ राजनीतिक यात्रा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानमा अल्पसङ्ख्यक समुदायको हकअधिकारलाई सुनिश्चित गरेको दाब िगर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले काँग्रेसले सात दशकदेखि थालेको प्रजातान्त्रिक आन्दोलनको उपलब्धिका रुपमा संविधानसभाबाट जारी भएको संविधानले प्रजातान्त्रिक भविष्य सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

संसदीय प्रजातन्त्रमार्फत नै अर्थपूर्ण सामाजिक परिवर्तन गर्न सकिनेमा जोड दिँदै कावा सभापति पौडेलले नेपाल शान्ति र समृद्धिको पथमा अग्रसर रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, आइक्याप स्थायी समितिका अध्यक्ष एवम् फिलिपिन्सका पूर्वसभामुख जोसे दि भेनेसिया, उपाध्यक्ष एवम् कम्बोडियाका उपप्रधानमन्त्री शोक आन, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रथम ब्युरो महानिर्देशक झाङ सियु, काँग्रेसका अन्तर्राष्ट्रिय विभाग प्रमुख एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, पाकिस्तान मुस्लिम लिग–क्यूका महासचिव मुसाहिद हुसैन सायद, थाइल्यान्डको फ्यु थाई पार्टीका नलिनी ताभिसिनलगायतले नेपालको राजनीतिक सङ्क्रमणका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply