फुटबलमा नवयुग को आगमन

नवयुग

काठमाडौं, फागुन ४ – नेपाली फुटबलमा नवयुग को आगमन एउटा स्वर्ण अक्षरमा लेखिने अध्याय बनेको छ |

१२औँ साग फुटबलको उपाधि जितेको छ । भारतको गुवाहाटीमा सम्पन्न फाइनलमा चिरप्रतिद्वन्द्वी भारतलाई २–१ गोलअन्तरले पराजित गर्दै नेपालले फुटबलमा नवयुग सुरु गरेको छ । २३ वर्षयता सागमा नेपाल सधौ पराजित थियो ।

नेपालको जितमा स्टार स्ट्राइकर नवयुग श्रेष्ठ र प्रकाश बुढाथोकीले गोल गरे । पहिलो हाफसम्म १ गोलले पछि परेको अवस्था उल्टाउँदै नेपालले दोस्रो हाफमा २ गोल गरेर भारतलाई उसैको मैदानमा माथ दियो ।
३२औँ मिनेटमा भारतले पेनाल्टीमार्फत गोल गरेर अग्रता लिएको थियो । नेपाली डिफेन्डर आदित्य चौधरीले भारतीय खेलाडी उदान्त सिंहलाई डिबक्सभित्र फल गरेपछि भारतले पेनाल्टी पायो । कुनै गल्ती नगरी हरिचरण नाजरीले बललाई जाली चुमाए ।
साग फुटबलतर्फ नेपाललाई स्वर्ण पदक दिलाउने क्रममा प्रकाश बुढाथोकीले ६५औँ मिनेटमा फ्री किकमार्फत आकर्षक गोल गरे । भारतीय रक्षकले डिबक्सबाहिर अञ्जन विष्टलाई फल गरेपछि नेपालले फ्री किक पाएको थियो । अवसर सदुपयोग गर्दै भारतीय गोलकिपरलाई कुनै मौका नदिई प्रकाशले बललाई जाली चुमाए ।
खेल बराबरीमा आएपछि थप आक्रामक बनेको पाँच मिनेटपछि ७०औँ मिनेटमा नेपालले अग्रता कायम गर्‍यो । यसपटक प्रतियोगितामा दुई ह्याट्रिक गरिसकेका नवयुगले गोल गरे । प्रकाशको एअर क्रसलाई एक डिफेन्स र गोलकिपरलाई जिल्याउँदै उनले आकर्षक गोल गरे । यसरी नेपाल साग फुटबलमा च्याम्पियन बन्यो ।

राजुकाजी शाक्यको संयोग

१९९३ मा दक्षिण एसियाली खेलअन्तर्गत फुटबलमा फाइलन जित्दा राजुकाजी शाक्य नेपाली टोलीका कप्तान थिए । २३ वर्षअगाडि नेपाल दक्षिण एसियाको च्याम्पियन बनेपछि मात्र जन्मिएका खेलाडीहरूबाट बनेको यू–२३ को टिम लिएर यसपालि राजुकाजी शाक्य भारतको गुवाहाटी गएका थिए । सौभाग्यवश उनले फेरि नेपाली टिमलाई जिताए । कप्तानको रूपमा नेपाललाई उपाधि दिलाएका शाक्यले प्रशिक्षकका रूपमा पनि नेपाललाई निराश बनाएनन् ।

एक महिनामा दुई उपाधि

पछिल्लो २३ वर्ष उपाधिविहीन नेपालले अघिल्लो महिना बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा बहराइनको यू–२३ टिमलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यसक्रममा नेपालले समूह चरणमा श्रीलंकामाथि १–० को जित निकाल्दै २७ महिना लामो जितविहीन यात्रालाई पनि टुंग्याएको थियो । बंगबन्धुमा गरेको प्रभावशाली प्रदर्शनसँगै नेपाललाई १२औँ सागको उपाधि दाबेदारका रूपमा हेरियो । नभन्दै पहिलो खेलमा भुटानलाई ५–० ले हराएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको थियो । सेमिफाइनल भने इतिहासमै सनसनीपूर्ण नतिजा निकाल्ने क्रममा नेपालले माल्दिभ्सविरुद्ध ४–३ को जित निकाल्यो । थप गरिएको ३० मिनेट सकिन तीन मिनेट बाँकी छँदा नवयुग श्रेष्ठले दुई गोल गर्दै नेपाललाई फाइनलको यात्रा गराए । फाइनलमा भारतलाई हराएर नेपाल एक महिनाभित्र दुई उपाधि जित्न सफल भयो ।

आजको नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित छ |

यी हुन् नेपाली फुटबलका नवयुग

navayug

एक उत्तर छोड्न