आइसियु सामग्री भन्डारमा थन्किए

मेची अञ्चल अस्पताल

काँकडभिट्टा (झापा),फागुन ४- झापाको भद्रपुरमा रहेको मेची अञ्चल अस्पतालमा आइसियु सामग्री भन्डारमा थन्किएका छन् | उपचार कक्ष (आइसियु) सञ्चालनका लागि खरिद गरिएका सामग्री चार वर्षदेखि भन्डारमा थन्किएका छन् ।
स्वास्थ्य मन्त्रालयले आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति तथा ती सामग्री जडानका लागि पनि जनशक्ति नपठाएकाले अस्पतालले सो सेवा विस्तार गर्न नसकेको जनाएको छ ।
आइसियु सञ्चालनका लागि अस्पतालले झापा जिल्ला विकास समितिको सहयोगमा चार श्ययाको कक्ष चार वर्षअघि नै निर्माण गरिसकेको छ । उपचारमा आवश्यक पर्ने उपकरणसमेत अस्पतालले जुटाइसकेको छ । ती सबै सामान हाल भन्डारमा राखिएको छ ।
जनशक्ति अन्तर्गत एनेस्थोलोजिस्ट, मेडिकल अफिसर र दुई जना स्टाफ नर्स तथा प्रयोगशाला आवश्यक हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुर बताउनुहुन्छ ।
भौतिक पूर्वाधार व्यवस्थापन भएमा जनशक्ति उपलब्ध गराउने मन्त्रालयले आश्वासन दिएपछि आइसियु उपकरण किनिएको उहाँले जानकारी दिनुभयो । मेची अञ्चलका कुनै पनि सरकारी अस्पतालमा हालसम्म आइसियु सुविधा छैन ।

Leave a Reply