अदालतको आदेश कार्यान्वयन गर्न सुपारी किसानको माग

सुपारी

क्यापिटल खवर सम्बाददाता, काठमाडौँ,  फागुन ४ – नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न सुपारी किसानको  माग रहेको छ ।

राष्ट्रिय सुपारी खेती प्रवद्र्धन एवम् कृषि विकास सङ्घ नेपाल, झापालगायतका संस्थाले आज राजधानीमा एक पत्रकार सम्मेलन गरी उत्पत्तिको प्रमाणपत्र जारी गर्दा अन्याय भएको भन्दै लामो समय आन्दोलन गरेको र आफ्नो पक्षमा सर्वोच्च अदालतले निर्णय गरे पनि त्यसको कार्यान्वयनमा महासङ्घले बेवास्ता गरेकाले कार्यान्वयन गर्न माग गरेको हो ।

विदेशमा समेत निर्यात गरिने कृषिजन्य उत्पादन सुपारीलाई विदेश निर्यात गरिनेतर्फ वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘कार्यविधि–२०६८’ स्वीकृत गरी महासङ्घलाई उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार प्रदान गरेको थियो ।

महासङ्घले सो कार्यविधि विपरीत एकपक्षीय ढङ्गले सिन्डिकेट प्रथाद्वारा कुनै एक संस्थालाई मात्र फाइदा पुग्ने गरी उत्पत्तिको प्रमाणपत्र प्रदान गरेको राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासङ्घका अध्यक्ष नवराज दाहालले आरोप लगाउनुभयो ।

सङ्घका उपाध्यक्ष तोयानाथ अधिकारीले अदालतको आदेश कार्यान्वयन नभएपछि आफूहरु आन्दोलित हुनुपरेको बताउनुभयो ।

एक उत्तर छोड्न