सहयोगीको भरमा स्वास्थ्य चौकी

स्वास्थ्य चौकी

जुम्ला, फागुन ५- कुडारी गाविसस्थित इलाका स्वास्थ्य चौकी सहयोगीको भरमा छोड्दा सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।

स्वास्थ्य चौकीका कर्मचारी कोही घर बिदा र कोही जिल्लाको तालिम गोष्ठीमा गएपछि कार्यालय कर्मचारीविहीन भएको हो । चौकीका सहयोगी कालीबहादुर कठायतले कोही घर बिदा, कोही तालिम गोष्ठीमा, कोही स्वास्थ्यकर्मी गाउँघर क्लिनिक चलाउन र कोही कार्यालयमा नआएपछि आफू एक्लै भएको बताउनुभयो । आफूलाई औषधिको बारेमा जानकारी नभएकाले सेवाग्राही आएपछि त्यत्तिकै फर्केर जान्छन्, सहयोगी कठायतले भन्नुभयो ।

जिल्लास्थित राजनीतिक दल, जिल्ला खानेपानी कार्यालाय र पत्रकार सम्मिलितको सरसफाइसम्बन्धी अनुगमनमा गएको टोलीले कार्यालय सहयोगीको भरमा स्वास्थ्य चौकी सञ्चालन भएको पाएको हो ।

यता कुडारी–२ जुम्लाका स्थानीय रुपचन्द्र सार्कीले संस्थामा स्वास्थ्यकर्मी नियमित नहुँदा सामान्य उपचार लिन पनि गाह्रो भएको बताउनुभयो । सिटामोल, एमजिटलगायतका सामान्य किसिमका औषधिबाहेक अरु पाउने नगरेकाले मेडिकलमै किन्नुपरेको सार्कीले दुखेसो पोख्नुभयो ।

त्यस्तै, कुडारी–३ जोगीवाडाका कालुनाथ योगीले यहाँका सेवाग्राही प्रायजसो मेडिकलमा नै चेकजाँच गर्ने र औषधि लिने गरेको बताउनुभयो । उक्त स्वास्थ्य चौकीमा सातवटा स्थायी र एकजना करारसहित आठ कर्मचारी कार्यरत रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले यस विषयमा आफूलाई जानकारी नभएको जनाएको छ ।

एक उत्तर छोड्न