एमबिबीएस प्रथम वर्षमा ८.७५% मात्र उत्तीर्ण

प्रथम

महेन्द्रनगर (धनुषा), फागुन ६- धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयास्थित जानकी मेडिकल कलेजको एमबिबीएस प्रथम वर्षमा ९१ प्रतिशत विद्यार्थी असफल भएका छन् ।

परीक्षामा सहभागी नियमित तथा आंशिक गरी ८० विद्यार्थीमध्ये सातजना मात्र उत्तीर्ण भएको क्याम्पस प्रशासनले जनाएको छ । एमबिबीएस प्रथम वर्षको ११ औँ समूहको परीक्षाफलमा ८.७५ प्रतिशत विद्यार्थी मात्रै पास भएका छन् ।

कलेजको यस्तो परिणाम आएपछि रु ३५ देखि ४० लाखसम्म खर्च गरेर चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थी चिन्तामा परेका छन् ।

मेडिकल कलेजका व्यवस्थापन समितिका पूर्वअध्यक्ष ओपी पाण्डेलगायत व्यवस्थापकले शिक्षक, कर्मचारीको तलबभत्ता नियमित भुक्तान नगर्दा विगत दुई वर्ष क्याम्पस अस्तव्यस्त बनेको थियो ।

पटक पटकको हडतालले विद्यार्थीको अधिकांश समय आन्दोलन मै बितेको थियो । पूर्व सञ्चालकमध्येका केहीमाथि अहिले पनि ठगी मुद्दा चलिरहेको छ भने केही फरार छन् । पाण्डेले बिक्री गरेपछि गत असार २७ देखि धनबहादुर शेरचनको नेतृत्वको नयाँ व्यवस्थापनमा कलेज सञ्चालन भइरहेको छ ।

नयाँ व्यवस्थापनले जिम्मेवारी सम्हालेयता पठनपाठन र भौतिक सुविधामा सुधार भएको प्रशासन शाखाका राकेश ठाकुरको दाबी छ । उहाँका अनुसार कक्षा नियमित छन् भने ५३५ श्ययाको अस्पताल पनि सञ्चालन गरिएको छ ।

भौतिक र शैक्षिक पूर्वाधारमा सुधार भएपनि दुई वर्षदेखि यस कलेजले छात्र भर्ना गर्ने अनुमति (कोटा) नपाएको कलेज प्रशासकको गुनासो छ । प्रशासक सुशील झाले जनकपुर उपमहानगरपालिकामा सिटी अस्पतालसँगै आइसियु तथा सिसियु सञ्चालन भएको बताउनुभयो । उहाँले २५ सङ्काय थपिएको जनाउँदै अब पठनपाठन नियमित छ, तैपनि विद्यार्थी कोटा रोकिएको बताउनुभयो ।

Leave a Reply