साझा प्रकाशन संरक्षणका लागि ध्यानाकर्षण

साझा प्रकाशन

काठमाडौँ, फागुन ६- ‘साझा प्रकाशन बचाऊ अभियान’ले सो संस्थाको संरक्षणको माग गर्दै नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई भेटेर ध्यानाकर्षण गराएको छ ।

संस्थाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको नेतृत्वमा एमाले पार्टी कार्यालय धूमबाराहीमा आज पुगेको समूहले महासचिव पोखरेललाई संस्थामा मौज्दातमा रहेका कृति सरकारी निकायमा खरिदको व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

उक्त अवसरमा महासचिव पोखरेलले शिक्षा तथा साहित्य विषयका कृति प्रकाशनको इतिहास बोकेको साझा प्रकाशनलाई संरक्षण गर्नका लागि सम्बन्धित निकायमा पार्टीले पहल गर्ने आश्वासन दिनुभयो ।

उहाँले शिक्षा तथा साहित्यको विकासले गतिशील समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले त्यसको विकास र संरक्षणका लागि राज्य र गैरसरकारी सङ्घसंस्थाबाट पनि पहल गरिनुपर्ने बताउनुभयो ।

सोही पार्टीका सचिव प्रदीप ज्ञवालीले साझा प्रकाशनले संरक्षणका लागि आफू उक्त अभियानमा क्रियाशील भईलाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । अभियानले यसअघि पनि विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई भेटेर साझा प्रकाशन संरक्षणका लागि ध्यानाकर्षण गराइसकेको छ ।

अहिले साझा प्रकाशनका करिब रु २२ करोडका कृति मौज्दातमा छन् ।

Leave a Reply