राष्ट्रिय प्रजातन्त्र दिवस

भद्रपुर, फागुन ७ – छैसट्ठीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला मूल समारोह समिति झापाले आज यहाँ विविध कार्यक्रम आयोजना गरिएको छ ।

समितिले बिहान चन्द्रगढीस्थित लेखनाथ चोकबाट प्रभातफेरी गरी जिल्ला विकास समितिको सभाहलमा पुगेर सभा सम्पन्न गरेको छ ।

प्रभातफेरीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रसेवक कर्मचारी, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र नेपाल स्काउटका छात्रछात्रा सहभागी भएका थिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सबैभन्दा उत्कृष्ट व्यवस्थाको रुपमा रहेको प्रजातन्त्रलाई सुदृढ एवम् सबल बनाउन हामी सबैको कर्तव्य हो भन्नुभयो ।

स्थानीय विकास अधिकारी खेमराज ओझाको सभापतित्वमा भएको सो कार्यक्रममा जिल्ला विकास समितिका योजना तथा प्रशासकीय अधिकृत दीपक दाहाल, जेसिजका प्रतिनिधि भरत प्रसाईं, नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष तारामणि सापकोटा, नेकपा (एमाले)का प्रतिनिधि माधव विद्रोहीले पनि प्रजातन्त्रको विविध पक्षमा चर्चा गर्नुभएको थियो ।

यसैगरी, मूल समारोह समितिको अगुवाइमा मेची अञ्चल अस्पतालका बिरामीलाई फलफूल वितरण गर्नुका साथै नेपाल रेडक्रस सोसाइटी झापा शाखाको नेतृत्वमा विर्तामोडमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ ।

एक उत्तर छोड्न