एकमात्र आधिकारिक समाचार संस्थाको रुपमा राससको विकास गरिने – सञ्चार मन्त्री

शेरधन राई

काठमाडौँ, फागुन ७- सूचना तथा सञ्चार मन्त्री शेरधन राईले राष्ट्रिय समाचार समिति (रासस)लाई मुलुकको एकमात्र आधिकारिक समाचार संस्थाको रुपमा विकास गरिने बताउनुभएको छ । रासस ५५औँ वार्षिकोत्सवका अवसरमा आज रासस केन्द्रीय कार्यालय, भद्रकालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ संविधानको मर्म र भावनाअनुसार राससलाई आधुनिक र प्रविधिसम्पन्न बनाएर अगाडि बढाइने बताउनुभएको हो ।
सञ्चारमन्त्री राईले भन्नुभयो, “हामी राससलाई एकमात्र स्वायत्त आधिकारिक न्यूज एजेन्सी बनाउन चाहन्छौँ । यसलाई आधुनिकतासँग जोडेर प्रविधिसम्पन्न बनाउने योजनासहित अगाडि बढाउनुपर्छ ।” रासस परम्परागत ढाँचाबाट माथि उठ्नुपर्नेमा जोड दिँदै उहाँले सञ्चार क्षेत्रको एक नम्बरको संस्था बन्ने लक्ष्यसहित प्रतिस्पर्धामा उत्रन राससकर्मीलाई निर्देशन दिनुभयो । नयाँ ढङ्गले व्यवस्थित र विश्वसनीय समाचार प्रवाहमा रासस अगाडि बढ्नुपर्ने उहाँको सुझाव थियो ।
रासस व्यवस्थापनबाट प्राप्त हुने स्पष्ट योजनालाई मन्त्रालयबाट अगाडि बढाइने प्रतिवद्धता व्यक्त गर्दै उहाँले आगामी दिन रासस व्यावसायिकरुपमा अगाडि बढ्नसक्नु पर्छ भन्नुभयो । सूचना तथा सञ्चार सचिव दिनेशकुमार थपलियाले परम्परागत कार्यशैली र पद्धतिमा सुधार गरेर रासस अगाडि बढ्नुपर्ने बताउनुुभयो । राससले आफूलाई विदेशी समाचार संस्थाको समकक्षमा उभ्याउन सक्नुपर्ने बताउँदै उहाँले नयाँ प्रविधिमैत्री भएर स्वायत्त, स्वतन्त्र र आत्मनिर्भर सूचना बैंकको रुपमा पहिचान स्थापित गर्न रासस व्यवस्थापन र सञ्चारकर्मीलाई सुझाव दिनुभयो ।
सञ्चारकर्मीले ग्रामीण जनतासमक्ष पुगेर विकास निर्माणका अनुकरणीय समाचार प्रवाह गरी ‘विकासका लागि सञ्चार’ भन्ने नारालाई मूर्त रुप दिनुपर्ने उहाँको भनाइ थियो । सचिव थपलियाले भन्नुभयो, “राससका समाचार विश्वसनीय छन् । सूचना र समाचार दाताको रुपमा आफ्नो छुट्टै पहिचान राख्न सफल राससको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।” सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिका अध्यक्ष काशीराज दाहालले लोकतन्त्रको सुदृढीकरणमा राससले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले व्यावसायिक र मर्यादित पत्रकारिता आजको आवश्यकता भएको पनि स्पष्ट पार्नुभयो ।
प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले मुलुक गम्भीर सङ्कटमा परेका बेला सरकारी सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “रासस व्यावहारिक पत्रकारिताको विश्वविद्यालय हो । यसको ठूलो महत्व छ । यो सम्मानित संस्था प्रोत्साहित भएर अगाडि बढ्ने विश्वास लिएको छु ।”
राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले रासस भौतिक तथा बौद्धिक रुपमा समृद्ध रहेको उल्लेख गर्दै आगामी दिन राज्य र जनतालाई जोड्ने कार्यमा रासस परिवार सक्रियताका साथ अगाडि बढ्ने वचनबद्धता प्रकट गर्नुभयो । रासससँग भएका भौतिक संरचनालाई व्यावसायिक उपयोगमा ल्याउन सकिने सम्भावना औँल्याउँदै उहाँले आगामी दिन राससका सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने बताउनुभयो । त्यस्तै, राससका महाप्रवन्धक निर्मला आचार्यले समय सापेक्षरुपमा राससका सेवालाई विविधीकरण, व्यावसायीकरण र सुदृढीकरण गर्दै लगिने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ, रासस शाखाका अध्यक्ष विष्णु नेपालले नयाँ संविधानको कार्यान्वयनका लागि श्रव्यदृश्य र अनलाइन सेवालाई थप सुधार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै राससको समाचारको प्रयोग व्यापक रुपमा भएपनि समाचार स्रोत उल्लेख नगर्ने प्रवृत्ति रहेको गुनासो गर्नुभयो । रासस कर्मचारी सङ्घका अध्यक्ष मनोजकुमार लामिछानेले संशोधनका लागि मन्त्रालयमा पठाइएको राससको विनियमावली अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले कर्मचारीको वृत्ति विकास र आन्तरिक प्रतियोगिताबाट छुटेका सहायकस्तरका कर्मचारीलाई प्रक्रिया पुर्याएर स्थायी गर्नुपर्ने बताउनुभयो । सो अवसरमा सूचना तथा सञ्चारमन्त्री राईले राससबाट प्रकाशित अन्तर्राष्ट्रिय आलेख संग्रह ‘विश्व परिवेश’ र अङ्ग्रेजी आलेख सङ्ग्रह ‘पानोरमा’ को लोकार्पण गर्नुभएको थियो । रासस

Leave a Reply