अपाङ्ग लेखक बने मदन पुरस्कार बिजेता

मदन पुरस्कार

भीमदत्तनगर, फागुन ८- विसं २०६६ मा देशकै गरिमामय मदन पुरस्कार पाउँदा नरबहादुर साउद राष्ट्रियस्तरमै एकाएक चर्चाका पात्र बन्नुभएको थियो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भगवती टोल घर भएका अपाङ्ग जीवन बिताउँदै आउनुभएका साउदले ‘नेपालका बालीनाली र तीनको दिगो खेती’ नामक पुस्तक लेखेर मदन पुरस्कार विजेता बन्न सफल हुनुभएको हो ।

विसं २०४७ मा दुग्ध संस्थानको जागिर हुँदा बुटवलदेखि सुर्खेत आउँदै गर्दा संस्थानको टयाङ्कर बाँकेको कुसुममा दुर्घटनाग्रस्त हुँदा साउदको मेरुदण्ड नै भाँचिदा अपाङ्ग हुन पुग्नुभयो ।

नेपाल र भारतका विभिन्न अस्पतालमा छ महिनाको उपचारपछि उहाँलाई ‘प्यारापिलेजिया’ भएको चिकित्सकले बताएपछि साउदका भावी दिन निकै कष्टरकर बन्न पुगे ।

उहाँको अहिले कम्मरमुनिको भागले काम गर्दैन र पनि ह्वियलचियरको सहायताले हिड्ने गर्नु हुन्छ ।

‘दुर्घटनामा परेपछि केही वर्ष निकै उदासिन जीवन बिताएँ उहाँ भन्नुहुन्छ ।’ बैतडीको रिम गाविस–३ बण्डामा विसं २०१९ मा जन्मिनु भएका साउद आफू अपाङ्ग भएपछि ‘‘किताब लेख्न थाल्नुभयो पछि त्यतैतिर ध्यान केन्द्रित भयो ।’’ साउदले भन्नुभयो । पछि त्यही किताब साझा प्रकाशनले प्रकाशित गरिदिएको र उक्त पुस्तकले मदन पुरस्कार पनि पायो पुरस्कार पाएपछि उहाँलाई लेखनमा थप प्रोत्साहन मिलेको छ ।

‘ओछ्यानमा छाती र हातको कुहिनाको भरमा सुतेर मात्रै कम्प्युटर चलाउन सक्छु ।’ साउदले भन्नुभयो–‘‘पहिले त सुतेरै दैनिक १५÷१६ घण्टासम्म लेख्ने अहिले स्वास्थ्यका कारण लामो समय सक्दिन् ।’’

करिब एक दशक लगाएर ९५० पृष्ठको पुस्तक लेखेर दाम र नाम कमाउनु भएका साउदले त्यसपछि ‘उन्नत खेती’ नामक पुस्तक समेत प्रकाशन गर्नुभएको बताउनु भयो ।

उहाँलाई बहिनीहरु र ८६ वर्षीय वृद्ध बुबा धनबहादुर र ८४ वर्षीया आमा धर्मादेवीले हेरचाह गरिरहनुभएको छ ।
‘दुर्घटनाको केही समयपछि श्रीमतीले पनि साथ छोडिन् ।’ उहाँले भन्नुभयो–‘‘केही समयअघि भाइको पनि हृदयघातका कारण निधन भए पनि सिङ्गो परिवार नै अपाङ्ग जस्तै बनेको छ ।’’
परिवारमा पनि अनेक प्रकारको समस्या हुँदा पनि बेवास्ता गर्दै साउदले लेखन यात्रालाई भने निरन्तरता दिनु भएको छ ।

एक उत्तर छोड्न