मदनको स्मरण गर्दै बाटिकामा कुचो

मदन भण्डारी स्मृति बाटिका

काठमाडौँ, फागुन ८- तीनकुने सुविधानगरवासीले स्थानीय मदन भण्डारी स्मृति बाटिकालाई चिटिक्क बनाउने अभियान सुरु गरेका छन् ।

तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारीको नाममा स्थापना गरिएको उक्त बाटिकाको २०५१ सालमा उहाँकी धर्मपत्नी एवम् वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । काठमाडौँ वडा नं ३५ मा स्थित उक्त बाटिका पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ ।

स्थानीय टोलवासी मदनको नाम स्मरण गर्दै उक्त बाटिकालाई काठमाडौँ उपत्यकाकै नमुना बनाउन हातमा कुचो लिएर आज बिहानै बढारकुँडारमा सहभागी भए ।

कानुन, न्याय एवम संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलको अगुवाइमा भएको उक्त सरसफाइ अभियानको एकीकृत उपभोक्त सङ्घ सुविधानगरका अध्यक्ष मदन सिवाकोटीले संयोजन गर्नुभएको थियो ।

बाटिका क्षेत्रमा बाटो बनाउने, रेलिङ हाल्ने, बत्ती जडान गर्ने तथा फूल एवम् साना खाले वृक्षका बिरुवा रोप्ने काम गरिने अध्यक्ष सिवाकोटीले जानकारी दिनुभयो ।

बाटिकाको विकास र प्रवद्र्धनका लागि संरक्षण समिति पनि गठन गरिएको छ । अघिल्लो वर्ष उक्त उद्यानमा होचा प्रजातिका ६० रुखका बिरुवा रोपिएको थियो । सो बाटिकामा रहेको फोहर सङ्कलन गरेर डढाउने, हटाउने र कुचो लगाउने गरी गरिएको सरसफाइ अभियानलाई अब आगामी दिनमा निरन्तरता दिइने टोलवासीले अठोट लिएका छन् ।

Leave a Reply