अघोषित नाकाबन्दी अघोषित रुपमै खुल्योःखनाल

नाकाबन्दी

इलाम, फागुन ९- नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतले गरेको अघोषित नाकाबन्दी अघोषित रूपमै अन्त्य भएकाले अब मुलुकमा इन्धन आपूर्ति सहज भई विकास निर्माणले गति लिने बताउनुभएको छ ।

पूर्वी इलामको इरौटार गाविसस्थित सुकेनिन्दा खोलामा नवनिर्मित पक्की पुलको आज उद्घाटन गर्नुहुँदै नेता खनालले नाकाबन्दीका कारण देखिएको इन्धन समस्या प्रधानमन्त्रीको भारत भ्रमणपछि अन्त्य भएकाले विस्तारै इन्धन सहज हुँदै जाने बताउनुभयो ।

मधेसको समस्या संविधानभित्रबाटै खोज्नुपर्ने बताउँदै उहाँले प्रमको भारत भ्रमणले दुई देशबीच चिसिएको सम्बन्ध सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

संविधान निर्माणपछि देश विकासको गतितर्फ उन्मुख भइरहेकाले देशमा नयाँनयाँ उद्योगधन्दा खोलेर आर्थिक क्रान्तिमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सो पुलको तीन वर्षअघि निर्माण सुरू भएको थियो । उक्त पुल रु दुई करोड ८४ लाखको लागतमा निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष बृहस्पति खतिवडाले जानकारी दिनुभयो ।

एक उत्तर छोड्न