वाकिनावामा नयाँ अमेरिकी सैन्य शिविर बनाउने योजनाको स्थानीयद्वारा विरोध

टोकियो (जापान),  फागुन ९ – हजारौँ मानिसले मानव साङ्लोद्वारा जापानको संसदलाई घेरा हाली वाकिनावामा थप अमेरिकी सैन्य आधार शिविर बनाउने योजनाप्रति आइतबार विरोध प्रदर्शन गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार स्वस्फूर्त रुपमा संसद भवन वरिपरी मानव साङ्लोले घेर्दै करीब २८ हजार जापानी नागरिकले वाकिनावामा अमेरिकी सैन्य शिविर बनाउने योजनाप्रति आइतबार विरोध प्रदर्शन गरेका हुन् ।

विरोधका लागि करिब २८ हजार मानिस संसद भवन बाहिर पुगेका र यहाँ थप अमेरिकी सैन्यबल नराख्न अनुरोध गरेका ब्यानर बोकेका थिए ।

थप अमेरिकी सैन्य बल नभित्र्याउ, वाकिनावाका नागरिकको इच्छाको सम्मान गर भन्ने ब्यानरसहित संसद भवनतिर हिँडिरहेका केही प्रदर्शनकारीलाई प्रहरीले बीच बाटोमै अवरोध गरी प्रदर्शन स्थलमा पुग्न नदिएको समेत प्रदर्शनकारीको दाबी छ ।

प्रदर्शनका लागि त्यहाँ पुगेको जापानी नागरिकले वाकिनावा टापुमा शान्तिका लागि निलो रङ्गको कपडा पहिरेका थिए ।

जापानको दक्षिणी टापु वाकिनावा र यहाँको सरकारबीच दूरी बढेपछि सरकार र सैन्य शिविरविरोधी नागरिकबीच द्वन्द्व उत्पन्न भएको हो ।

वाकिनावाले जापानको एक प्रतिशत जमिन ओगटे पनि जापानमा रहेका करिब ७५ प्रतिशत अमेरिकी सैन्यबल वाकिनावामा रहेको छ ।

जापानको केन्द्रीय सरकारले नयाँ अमेरिकी सामुद्रिक शिविरलाई वाकिनावाको विकट क्षेत्रबाट सागरी घनाबस्ती भएको गिनोवान सहर नजिकै शिविरलाई पुनःस्थापना गर्न चाहे पनि त्यहाँका स्थानीयले उक्त ठाउँमा सैन्य शिविर सार्न नहुने बताउँदै आएका छन् ।

Leave a Reply