बृहत् हिन्दू धार्मिक जागरणसभा इटहरीमा

धार्मिक

इटहरी,  फागुन १० – राप्रपा नेपालले संवैधानिक राजतन्त्र र हिन्दू राज्य हुनुपर्छ भन्ने पार्टीको अडानलाई घनिभूत रुपमा उठाएर यो विषयमा बृहत् एवम् व्यापकरुपमा जनमत तयार पारेर पार्टीको अडान स्थापित गराउन इटहरीमा बृहत् हिन्दू धार्मिक जागरणसभा गर्ने भएको छ ।

देशको पाँचवटै विकास क्षेत्रमा आयोजना बृहत् हिन्दू धार्मिक जागरणसभा गर्ने निर्णयअनुसार पूर्वाञ्चलको इटहरीमा यही फागुन १५ गते आयोजना गर्ने तयारी भइरहेको विषयमा आज यहाँ कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरेको छ ।

सो अवसरमा पार्टीका उपाध्यक्षद्वय टङ्क ढकाल र हरिनारायण यादवले संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था र हिन्दू अधिराज्य भन्ने धार्मिक सनातनी व्यवस्था नै पुनः स्थापित गराउनुपर्छ भन्ने राप्रपा नेपालको आफ्नो अडानलाई जनताका माझमा स्थापित गराउन यो अभियान चालिएको हो भन्ने कुरामा जोड दिनुभएको छ ।

कार्यक्रममा राप्रपा नेपालका वरिष्ठ केन्द्रीय सदस्य एवम् भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले राप्रपाले अघि सारेको सवैधानिक राजतन्त्र र हिन्दू राज्यको धारणालाई ओझेल पर्न नदिन राप्रपाले यो कार्यक्रम अघि सारेको हो भन्नुभयो ।

उहाँले कहीँ कतै जनस्तरमा राप्रपा नेपालले आफ्नो अडान छाडेर वर्तमान सरकारमा गएको भन्ने भ्रमपूर्ण अभिव्यक्ति बाहिर सुन्नमा आइरहेको बेला पार्टीले त्यो भ्रम मात्र हो है भन्नका लागि यो अभियान चालिएको थप प्रस्ट पार्नुभएको छ ।

मन्त्री सुब्बाले पूर्वाञ्चालका १६ वटै जिल्लाबाट बृहत् सहभागिता हुने यो भेलाले राप्रपाको संवैधानिक राजतन्त्र र हिन्दू राज्य भन्ने अडानलाई घनिभूत रुपमा उठाउने गरी सार्वजनिक बहस स्थापित गराउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

राप्रपा २ नम्बर क्षेत्रीय समितिका अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षतामा भएको सार्वजनिक छलफल तथा तयारीसम्बन्धी कार्यक्रममा सांसद ययन्द्रा बान्तवा, अनिल सुब्बा, मधु रिमाल, प्रेमप्रसाद भट्टराईलगायतले तयारीका सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

एक उत्तर छोड्न