नाकाबन्दी समस्या समाधान हुनेमा ढुक्क हुन सकिन्न : दाहाल

समाधान

काठमाडौँँ, फागुन १०- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा राख्नुभएको भनाइलाई भारतीय प्रधानमन्त्रीले खण्डन गरेकाले नाकाबन्दीको समस्या समाधान हुनेमा ढुक्क हुन नसकिने बताउनुभएको छ ।

पार्टीको काठमाडौँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो– “प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला भारतीय समकक्षी नरेन्द्र मोदीले राखेको विचार र उहाँको हाउभाउले नेपालको सङ्कट सकिएको जस्तो लाग्दैन, नाका सहज हुन सक्नेमा अझै ढुक्क हुन सकिँदैन, दबाब र निर्देशनका आधारमा स्वतन्त्रतालाई बन्धकी राखिन्न ।”

पार्टीलाई सबैभन्दा ठूलो नबनाएसम्म प्रधानमन्त्री र राष्ट्रपति कुनै पनि पद नलिने घोषणा पनि उहाँले गर्नुभयो । बुढेसकालमा कम्युनिष्ट पार्टी छाडेर बाबुराम भट्टराईले वैचारिक अपराध गरेको आरोप उहाँको थियो । “असोज ३ गते संविधान नबनाउन बाबुरामजीले धम्की दिनुभएको थियो, लागू नभएपछि लगत्तै पार्टी छाड्नुभयोे” नेता दाहालले भन्नुभयो ।

माओवादी ३ नं प्रदेश इन्चार्ज एवम् पोलिटब्युरो सदस्य लीलामणि पोखरेलले स्वतन्त्र राष्ट्रले जनताबाट निर्वाचित ठूलो सङ्ख्याका प्रतिनिधिले संविधान जारी गर्दा लागेको नाकाबन्दीले रु सात खर्बको क्षति व्यहोरेकाले यस्तो घटना नदोहो¥याउनेतर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पार्टीका नेवा राज्य प्रमुख दिलीप महर्जनले युद्धकालमा जुवा, तास र भट्टी बन्द गरेको दलका नेता गृहमन्त्री हुँदा यस्ता विकृतिले निरन्तरता पाउँदा जनतामा माओवादीको छवि धुमिलिएको बताउनुभयो ।
पार्टी काठमाडौँ अध्यक्ष हिमाल शर्माले पार्टीको निर्णयअनुसार काम नगर्ने मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने माग गर्नुभयो ।
प्रशिक्षणमा काठमाडौँका १० नगरपालिका र महानगरपालिकाका २०९ वडाका गरी दुई हजार २०० अगुवा कार्यकर्ताको सहभागिता थियो । प्रशिक्षणमा लोकगायक विष्णु खत्री र नवीन खड्का एवम् जनकवि भोला बरालले साङ्गीतिक एवम् साहित्यिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा टिआर नेपालले लेख्नुभएको ‘आऊ साथी …’ गीति एल्बम र कृष्णबहादुर केसीले लेख्नुभएको ‘धवलागिरिमा कम्युनिस्ट आन्दोलन उद्भव र विकास’ शीर्षक पुस्तकको विमोचन समेत गरिएको थियो ।

एक उत्तर छोड्न