वातावरण मैत्री कार्यक्रम प्रभावकारी

कार्यक्रम

चितवन,  फागुन ११- जिल्लाको नगरपालिकाले सञ्चालन गरेको वातावरण मैत्री स्थानीय शासन कार्यक्रम प्रभावकारी वन्दै गएपछि बजेट थप भएको छ ।

नगरपालिकाले गत आर्थिक वर्षमा पहिलो चरणमा रु ८५ लाख बजेट पाएकोमा कार्यक्रम प्रभावकारी र समयमा सम्पन्न भएपछि रु १० लाख ३० हजार थप गरिएको छ । नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्यालका अनुसार चालु आवका लागि रु एक करोड ८१ लाख निकासा भएको छ । सबैभन्दा बढी बैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग मिलेर सौर्य सडक बत्तिमा रकम खर्च गरिँदै छ ।

कार्यक्रमको रु २० लाख र केन्द्रको रु २५ लाख गरी रु ४५ लाख खर्च गरेर रामपुरदेखि खद्रयौलीसम्म सौर्य सडक वत्ती विस्तार गरिँदै छ । नगरपालिकाले गत वर्ष सौर्य सडक वत्तीमा रु ३५ लाख खर्च गरेको थियो । सार्वजनिक जग्गा संरक्षणमा रु २२ लाख खर्च गरिने अर्यालय बताउनुहुन्छ । नगरपालिका भित्र १०० बिघाहाभन्दा बढी सार्वजनिक जग्गा रहेको छ ।

यस वर्ष चार वटा सार्वजनिक पोखरी निर्माणमा रु १२ लाख, वृक्षारोपण, वातावरण मैत्री झोला उत्पादन तालिम तथा वितरण, प्राङ्गारिक खेती तालिम, पानीको बोतल सङ्कलन, फोहर मैला पुनःप्रयोग, सुधारिएको चुलो र विरुवा र फुल नर्सरिका लागि रु पाँच÷पाँच लाख तथा बहुउद्देशीय पार्क निर्माणका लागि रु १२ लाख खर्च गरिँदै छ ।

देशभरका ६० वटा स्थानीय निकायमा लागु भएको यस कार्यक्रमअन्तर्गत यस नगरपालिकामा ११० प्रतिशत वित्तीय प्रगति भएको बताउँदै अर्यालले गत आवमा रु एक हजार ४५० घर वातावरण मैत्री घोषणा भएको बताउनुभयो । नगरपालिकाले यस आवमा थप पाँच हजार घरलाई वातावरण मैत्री घोषणा गर्ने योजना छ ।

Leave a Reply